काठमाडौं । एनआईसी एशिया क्यापिटल लिमिटेडको आठौं वार्षिक साधारणसभा मंगलबार सम्पन्न भएको छ । क्यापिटलको रजिष्टर्ड कार्यालय, थापाथली, काठमाडौंमा साधारण सभा सम्पन्न भएको हो ।
सभाले सामान्य प्रस्तावअन्तर्गत आर्थिक वर्ष २०८०/०८१ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्नुका साथै २०८१ असार मसान्तसम्मको वासलात, नाफा-नोक्सान हिसाब तथा नगद प्रवाह विवरणलगायत वार्षिक वित्तीय विवरणउपर छलफल गरी पारित गरेको छ । उक्त सभाबाट सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम चुक्ता पुँजीको ५२.५३ प्रतिशत (करसहित) का दरले नगद लाभांश वितरण गर्ने प्रस्तावसमेत पारित गरेको छ ।
उक्त सभामा सञ्चालक समितिको अध्यक्ष सन्तोषकुमार राठीले २० करोड रूपैयाँ चुक्ता पुँजी भएको क्यापिटलले समीक्षा अवधिमा ३० करोड रूपैयाँभन्दा बढी आम्दानी गरी १२ करोड १६ लाख रूपैयाँभन्दा बढी खुद मुनाफा आर्जन गर्न सफल भएको जानकारी गराए ।
त्यसैगरी व्यवसायतर्फ असार मसान्तसम्म ७ लाख ३९ हजार ८६८ डिम्याट खाता खोल्न सफल भएको, म्युचुअल फण्ड सेवाअन्तर्गत ५ वटा बन्दमुखी र एउटा खुलामुखी योजना गरी जम्मा ६ वटा योजना मार्फत ५ अर्ब ५२ करोड रूपैयाँभन्दा बढी रकम व्यवस्थापन गर्न सफल भएको उनले जानकारी दिए ।
उनले लगानी व्यवस्थापन सेवाअन्तर्गत ७०४ जना ग्राहकहरूबाट २ अर्ब ११ करोडभन्दा बढीको रकम व्यवस्थापन गर्न सफल भएको, शेयर रजिष्ट्रार सेवाअन्तर्गत २४ वटा कम्पनीलाई सेवा उपलब्ध गराइरहेको तथा ‘आइडिया टु आईपीओ’ सेवाअन्तर्गत १७ वटा कम्पनीको निष्कासन कार्य सम्पन्न गरिसकेको पनि जानकारी गराए ।
साथै क्यापिटलले आठौं वार्षिक साधारण सभामा प्रस्ताव गरेको लाभांशसहित आफ्ना शेयरधनीलाई हालसम्म २४० प्रतिशत रिर्टन वितरण गर्न सफल भएको पनि उनले बताए ।
FACEBOOK COMMENTS