काठमाडौँ । काठमाडौँबाट पोखरातर्फ प्रस्थान गर्नेक्रमा सौर्य एयरको ९ एन एएमई जहाज दुर्घटना हुँदा विमानमा सवार १८ जनाको निधन भएको छ ।
नागरिक उड्डयन प्राधिकरणको खोज तथा उद्धार समन्वय केन्द्रले बुधबार दिउँसो एक विज्ञप्ति जारी गर्दै सौर्य एयरलाईन्सको सीआरजे सेभेन (आईजी ९एनएएमई) जहाज दुर्घटनामा परेको जनाएको छ। त्यसक्रममा १८ जनाको शव संकलन गरिएको उसको भनाइ छ । १ जना घाइतेलाई उद्धार गरि काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल पुऱ्याइएको प्राधिकरणले जनाएको छ ।
उक्त जहाज काठमाडौंबाट स्थानीय समयअनुसार बिहान ११:११ बजे पोखरा उडानका क्रममा रनवे छाड्नेबित्तिकै दाहिनेतिर मोडिन गई एयरपोर्टको पूर्वतिरको स्थानमा दुर्घटनाग्रस्त हुन पुगेको प्राधिकरणले जनाएको छ । उक्त जहाज उड्ने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ‘रन वे’ पूर्वतर्फको खाल्डोमा खसेको थियो ।
तर यसअघि नेपाल प्रहरीले भने मर्मतको लागि पोखरा जाने क्रममा रहेको सौर्य एयरलाइन्सको जहाजमा सवार उसकै कर्मचारीहरू दुर्घटनामा परेको जनाएको थियो । जसमा १५ जनाको मृत्यु भएको र चारजनाको उद्धार गरिएको प्रहरीको दाबी थियो ।
प्रहरीले उद्धार गरिएकाध्ये ३ जनाको त्रिवि शिक्षण अस्पतालमा र १ जना पाइलट मनिषरत्न शाक्यको काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल सिनामंगलमा उपचार भइरहेको प्रहरीले जनाएको थियो ।
FACEBOOK COMMENTS