काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को खुद नाफा चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा २०.१६ प्रतिशतले घटेको छ।
बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको असोज मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार समीक्षा अवधिमा १६ करोड ६४ लाख ९६ हजार रुपैयाँ खुद नाफा कमाएको छ। गत आर्थिक वर्षको सोही अवधिमा बैंकले २० करोड ८५ लाख ४० हजार रुपैयाँ नाफा आर्जन गरेको थियो।
बैंकको ब्याज आम्दानी घट्नु र कर्जा नोक्सानी व्यवस्थाका लागि छुट्याउनुपर्ने रकम बढ्नुले नाफामा दबाब परेको देखिन्छ। समीक्षा अवधिमा बैंकको ब्याज आम्दानी ३.९३ प्रतिशतले घटेर ५९ करोड ७४ लाख ११ हजार रुपैयाँमा सीमित भएको छ। गत वर्षको सोही अवधिमा यस्तो आम्दानी ६२ करोड १८ लाख ६५ हजार रुपैयाँ थियो।
यस अवधिमा बैंकको ब्याज खर्च भने १.७६ प्रतिशतले बढेर २५ करोड ३१ लाख ४६ हजार रुपैयाँ पुगेको छ। ब्याज आम्दानी घट्नु र खर्च बढ्नुको प्रभावस्वरूप बैंकको खुद ब्याज आम्दानी ७.७३ प्रतिशतले घटेर ३४ करोड ४२ लाख ६५ हजार रुपैयाँ कायम भएको छ।
यद्यपि बैंकको शुल्क तथा कमिसनबाट हुने आम्दानीमा भने सुधार देखिएको छ। यस्तो आम्दानी ५८.४५ प्रतिशतले बढेर २ करोड १ लाख ८७ हजार रुपैयाँ पुगेको छ। गत वर्षको सोही अवधिमा बैंकले शुल्क तथा कमिसनबाट १ करोड २७ लाख ४० हजार रुपैयाँ आम्दानी गरेको थियो।

चालु आर्थिक वर्षको पहिलो तीन महिनामा बैंकको कुल सञ्चालन आम्दानी ५.५४ प्रतिशतले घटेर ३६ करोड ४४ लाख ५२ हजार रुपैयाँमा सीमित भएको छ। यस अवधिमा कर्जा नोक्सानी व्यवस्थाका लागि छुट्याइएको रकम भने २१५.४८ प्रतिशतले बढेर ३ करोड ८७ लाख १६ हजार रुपैयाँ पुगेको छ। गत वर्षको सोही अवधिमा यस्तो रकम १ करोड २२ लाख ७२ हजार रुपैयाँ थियो।

यसको प्रभाव बैंकको सञ्चालन नाफामा पनि परेको छ। समीक्षा अवधिमा बैंकको सञ्चालन नाफा १९.५० प्रतिशतले घटेर २४ करोड १ लाख ३४ हजार रुपैयाँ कायम भएको छ।

नाफामा गिरावट आए पनि बैंकको निक्षेप संकलन र कर्जा प्रवाहमा भने वृद्धि भएको छ। असोज मसान्तसम्म बैंकको निक्षेप संकलन ५४.०४ प्रतिशतले बढेर १२ अर्ब ४ करोड ५१ लाख ७९ हजार रुपैयाँ पुगेको छ। गत वर्षको सोही अवधिमा बैंकसँग ७ अर्ब ८१ करोड ९६ लाख ६५ हजार रुपैयाँ निक्षेप थियो।

त्यस्तै, बैंकको कर्जा प्रवाह ३०.५२ प्रतिशतले बढेर ३४ अर्ब १७ करोड ४७ लाख ९६ हजार रुपैयाँ पुगेको छ। बैंकको कुल सम्पत्ति पनि ५.५० प्रतिशतले वृद्धि भई ४४ अर्ब ३२ करोड ३६ लाख ८० हजार रुपैयाँ कायम भएको छ।
असोज मसान्तसम्म बैंकको चुक्ता पुँजी २१ अर्ब ६० करोड रुपैयाँ रहेको छ। यस अवधिमा बैंकको जगेडा तथा कोष ३८ प्रतिशतले घटेर २ अर्ब ६७ करोड ३६ लाख ७ हजार रुपैयाँमा झरेको छ।
नाफा घटेसँगै बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) पनि घटेको छ। गत आर्थिक वर्षको पहिलो त्रैमासमा ३ रुपैयाँ ८६ पैसा रहेको यस्तो आम्दानी चालु आर्थिक वर्षको समीक्षा अवधिमा घटेर ३ रुपैयाँ ८ पैसा कायम भएको छ। असोज मसान्तसम्म बैंकको प्रतिसेयर नेटवर्थ भने ११२ रुपैयाँ ३८ पैसा रहेको छ।