काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले गत आर्थिक वर्ष २०८२/८३ मा ९८ करोड ७३ लाख ९५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।
गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको बैंकको व्यवसाय विस्तार भए पनि खुद नाफामा भने संकुचन आएको देखिएको हो ।
बैंकको नाफा अघिल्लो आर्थिक वर्षको २०८१/८२ को १ अर्ब २३ करोड ४० लाख रुपैयाँको तुलनामा करिब १९.९८ प्रतिशतले घटेको हो ।
बैंकको नाफामा घट्नुको मुख्य कारण खुद ब्याज आम्दानीमा आएको कमी र ब्याज खर्चमा भएको उल्लेख्य वृद्धि हो ।
बैंकको वित्तीय विवरण अनुसार ब्याज आम्दानीमा सामान्य गिरावट आए पनि ब्याज खर्च भने ५६ करोड ९१ लाखबाट बढेर ९७ करोड ७३ लाख रुपैयाँ पुगेको छ । यसले गर्दा बैंकको मुख्य आम्दानीको स्रोत मानिने खुद ब्याज आम्दानी १ अर्ब ९० करोडबाट घटेर १ अर्ब ४४ करोड रुपैयाँमा घटेको छ ।
बैंकले शुल्क तथा कमिसन आम्दानीमा भने उल्लेख्य सुधार गर्दै ५ करोड ८० लाख रुपैयाँ पुर्याएको छ । बैंकले सम्भावित कर्जा नोक्सानी व्यवस्था (इम्पेयरमेन्ट चार्ज) बाट फिर्ता भएको २१ करोड २७ लाख रुपैयाँले नाफामा केही टेवा पुर्याएपछि अघिल्लो आब २०८१/८२ को भन्दा नाफा घटेको हो ।
गत आर्थिक वर्षमा बैंकले कर्जा प्रवाहमा उल्लेख्य वृद्धि गरेको छ । अघिल्लो वर्ष २४ अर्ब ९४ करोड रहेको ऋण तथा लगानी यस वर्ष बढेर ३१ अर्ब ४२ करोड रुपैयाँ पुगेको छ। निक्षेप संकलनमा पनि सामान्य सुधार भई ७ अर्ब ८३ करोड रुपैयाँ कायम भएको छ ।
बैंकको पुँजी पर्याप्तता अनुपात ६७.१५ प्रतिशत रहेकाले यसले भविष्यमा थप ठूला परियोजनामा लगानी विस्तार गर्न सक्ने क्षमता रहेको संकेत गर्छ ।
बैंकको पुँजी पर्याप्तता अनुपात ६७.१५ प्रतिशत रहेकाले यसले भविष्यमा थप ठूला परियोजनामा लगानी विस्तार गर्न सक्ने क्षमता रहेको संकेत गर्छ ।
बैंकको खराब कर्जा शून्य प्रतिशत रहेको छ । नाफामा आएको गिरावटले बैंकका अन्य प्रमुख सूचकहरूमा प्रत्यक्ष असर पारेको छ । प्रतिसेयर आम्दानी ५.७१ रुपैयाँबाट घटेर ४.५७ रुपैयाँमा झरेको छ । प्रतिसेयर नेटवर्थ ११७.२२ रुपैयाँ कायम भएको छ।