काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापृति रवि लामिछानेकी पत्नी निकिता पौडेलले अब न्याय माग्न म कहाँ जाऊँ ? भन्दै स्टाटस लेखेकी छन् ।
सामाजिक सञ्जालमार्फत पौडेलले सर्वोच्च अदालतले आफूलाई न्याय नदिएको उल्लेख गरेकी छन् । उनले गणतान्त्रिक राज्यमा समेत न्याय र मानवीयता मृत भेटेपछि आस्था र विश्वासको जग बेस्सरी हल्लिएको बताएकी छन् ।
आफ्ना पति रवि लामिछानेलाई अनाहकमा फसाएर अन्याय गरिएको भन्दै उनले यस्तो अभिव्यक्ति सार्वजनिक गरेकी हुन् ।
लामिछाने सहकारी ठगी र सङ्गठित अपराधको मुद्दामा हाल कारागार कार्यालय भैरहवा रूपन्देहीमा पुर्पक्षका लागि थुनामा छन् । उच्च अदालत बुटवलको आदेशानुसार उनलाई थुनामा राखिएको हो ।
यसबीच लामिछानेका तर्फबाट उनकी पत्नी पौडेलले उच्च अदालतको आदेश खारेजी माग गर्दै तथा बन्दीप्रत्यीक्षकरणको छुट्टाछुट्टै निवेदन सर्वोच्च अदालतमा दर्ता गराएकीमा दुवैमा मागबमोजिम आदेश आएन ।
त्यसपछि पौडेलले लेखेकी छन्–
त्रास अझैं बाँकी छ …!
जेठ ९ गते शुक्रबार, सर्वोच्च अदालतमा सुनुवाइको अन्तिम दिन । न्यायालय, न्यायकर्ता र न्यायप्रतिको दृढ विश्वास लिएर तेस्रो दिन पनि अदालत पुगें । बहस सकिएर आदेश आउने दिन, सुनाउनेले जे–जे सुनाए पनि अदालतप्रतिकै आश मर्न दिएन मनले । अन्याय हुँदैन भन्ने लागिरह्यो ।
हाम्रो तर्फबाट बहस राम्रो भयो । बेञ्चका हरेक प्रश्नको कानून व्यवसायीको तथ्यपूर्ण जवाफ । बहसले तथ्य पक्रेर आदेश गर्न बेञ्चलाई प्रशस्तै आधार दिएको ठानें । न्यायप्रतिको विश्वास झनै बढ्यो । करिब दुई बजेतिर बहस सकिएपछि आदेशको प्रतीक्षामा यताउति गरिरहे । केहीपछि सह–रजिष्ट्रार (प्रवक्ता) को कार्यकक्षमा बस्न भनियो । केही सञ्चारकर्मी पनि थिए । आदेश कुर्दाकुर्दै करिब ७ घण्टा बित्यो ।
‘एकैछिन है …’ भन्दै कार्यकक्षबाट निस्किएका प्रवक्ता फर्किएनन । आदेश ल्याएर सुनाउनु पर्ने मान्छे नै हराए । ‘श्रीमान त निस्किनु भयो’ भनेर एकजना पत्रकार भाइले जानकारी दिए । त्यसको आधा घण्टासम्म पनि आदेश लिएर कार्यकक्ष फर्किएनन प्रवक्ता । बाहिर निस्किदा एकजना आफन्तले फोनमा ‘नेगेटिभ समाचार छ, मैले कान्तिपुरको अनलाइनमा पढें’ भन्नुभयो । म अदालतमै छु । केही घण्टादेखि आदेशबारे आधिकारिक जानकारी दिने प्रवक्ताको कार्यकक्षमै छु । म निवेदक, मेरो श्रीमानबारे आएको आदेश बाहिरबाट सुन्नुपर्ने, अदालतले आधिकारीक रुपमा नसुनाउने । अदालत प्रशासन कतिसम्म गैरजिम्मेवार । अदालतले न्याय त दिएन–दिएन, मानवीय व्यवहार पनि गरेन । मानवता हराएको देश ! झमझम पानी परिरहेको थियो, अदालतबाट निस्किएँ ।
शुक्रबारको तनाब, अनिन्द्रा र रुवाई …! जिन्दगीकै अत्यन्तै कठिन दिन । भोलिपल्ट (शनिवार) भैरहवा जानु नै थियो, गएँ । अन्यायको शिकार भएकी म, कसरी तंग्रिएर हिंडे होला । कसरी उहाँको अगाडि पुगें, थाहा छैन । सायद जिउँदो लास भएर हिंडेछु । उहाँको अगाडि पुगेपछि मात्रै होस खुलेजस्तो भयो । साँझ काठमाडौं फर्किए ।
केही प्रमाण नभेटिँदा पनि मेरो श्रीमानविरुद्ध मुद्दा लगाइयो । नियत नै राखेर थुनियो । गैरकानूनी पक्राउबारे परेको रिटमा अदालतले एक शब्द पनि बोलेन । अब, न्याय माग्न म कहाँ जाऊँ ? मनको डर मेटाउन कसलाई गुहारौं ?
गणतान्त्रिक राज्यमा समेत न्याय र मानवीयता मृत भेटेपछि मेरो आस्था र विश्वासको जग बेस्सरी हल्लिएको छ । थाहा छैन, फेरि स्थिर हुन्छ कि सदाका लागि ढल्छ !
FACEBOOK COMMENTS