काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी) ले आफ्नो कर्जा असुली तथा धितो लिलाम प्रक्रिया प्रचलित कानुनअनुसार भएको स्पष्ट पारेको छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योति प्रकाश पाण्डेलाई अनुसन्धानका लागि भन्दै केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले मंगलबार राति पक्राउ गरेपछि बैंकले विज्ञप्ति जारी कानुनसम्मत रूपमै कर्जा असुली प्रक्रिया अघि बढाएको स्पष्ट गरेको हो ।
बैंकले बुधबार जारी गरेको प्रेस विज्ञप्तिमार्फत सीईओ पाण्डेलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको विषयप्रति ध्यानाकर्षण भएको उल्लेख गर्दै बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, सुरक्षित कारोबार ऐन तथा कर्जा असुली निर्देशिकाअनुसार नै सम्पूर्ण प्रक्रिया अघि बढाइएको दाबी गरेको छ ।
बैंकका अनुसार ऋणी कम्पनी श्री स्मार्ट टेलिकम प्रालिसँग सम्बन्धित विभिन्न उपकरण तथा सामग्री लिलाम प्रक्रियामार्फत बिक्री गरिएको थियो । उक्त बिक्रीबाट प्राप्त रकममध्ये करिब चार अर्ब २२ करोड रूपैयाँ कर्जा सुविधा चुक्ता भइसकेको र बाँकी करिब ३६ करोड रूपैयाँ बैंकको ‘अर्नेस्ट मनी अक्सन अकाउन्ट’मा सुरक्षित रहेको जनाएको छ ।
बैंकले स्मार्ट टेलिकमसँग सम्बन्धित घरबहाल, विद्युत् महसुल लगायतका बाँकी दायित्व सम्बन्धित निकायको निर्णय तथा कानुनी प्रक्रियाअनुसार क्रमिक रूपमा भुक्तानी गरिने पनि स्पष्ट पारेको छ ।

यद्यपि, बैंकले कानुनी प्रक्रिया अन्तर्गत भइरहेको अनुसन्धान प्रक्रियामा सहयोगै पुर्याउने जानकारी दिएको छ । अनुसन्धानका लागि आवश्यक सम्पूर्ण कागजात, विवरण तथा सहयोग सम्बन्धित निकायलाई समयमै उपलब्ध गराइएको उल्लेख गर्दै आगामी दिनमा पनि निरन्तर सहयोग रहने प्रतिबद्धता प्रेस विज्ञप्तिमार्फत व्यक्त गरिएको छ ।

साथै बैंकले दैनिक कारोबार, वित्तीय सुशासन, निक्षेपकर्ताको हित, शेयरधनीको विश्वास तथा ग्राहक सेवामा कुनै नकारात्मक असर नपर्ने दाबी गर्दै सम्पूर्ण सरोकारवालालाई ढुक्क रहन आग्रह गरेको छ । एनआईएमबीले नेपाल राष्ट्र बैंक, निक्षेपकर्ता, ग्राहक तथा शेयरधनीप्रति विश्वास र सहयोगका लागि आभारसमेत व्यक्त गरेको छ ।

यो पनि पढ्नुहोस्–