काठमाडौं । नेपालका बैंक तथा वित्तीय क्षेत्रसँग सम्बन्धित चार प्रमुख संघ–संस्थाले नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योति प्रकाश पाण्डेलाई थुनामुक्त गर्न संयुक्त अपिल गरेका छन् ।
सीईओ पाण्डेको पक्राउ र उनीमाथि भइरहेको अनुसन्धानको कसूरप्रति ध्यानाकर्षण भएको जनाउँदै नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपाल, नेपाल वित्तीय संस्था संघ तथा नेपाल लघुवित्त बैंकर्स संघले संयुक्त रूपमा प्रेस विज्ञप्ति जारी गर्दै यस्तो अपिल गरेका हुन् ।
‘बैंकको साख तथा प्रमुख कार्यकारी अधिकृत जस्तो पदको गरिमालाई समेत मध्यनजर गर्दै ‘सुन अनि थुन’ को सिद्धान्तमा रही आवश्यक अनुसन्धान गर्नुपर्ने भएमा ज्योति प्रकाश पाण्डेलाई यथाशीघ्र थुनाबाट बाहिरै राखी अनुसन्धान प्रक्रिया अघि बढाउन सम्बिन्धत निकायमा अपिल गर्दछौँ,’ विज्ञप्तिमा भनिएको छ ।
बैंकिङ क्षेत्रप्रति सर्वसाधारणको विश्वास अत्यन्त संवेदनशील हुने उल्लेख गर्दै प्रमुख कार्यकारी अधिकृतलाई पक्राउ गर्ने शैलीले बैंकको साखमा गिरावट आउन सक्ने तथा समग्र बैंकिङ प्रणालीमै नकारात्मक असर पर्न सक्ने चिन्ता व्यक्त गर्दै संघहरूले बैंकिङ प्रणालीको स्थायित्व र विश्वसनीयतामाथि असर नपर्ने गरी अनुसन्धान प्रक्रिया अघि बढाउन पनि संघहरूले आग्रह गरेका छन् ।
बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ तथा नेपाल राष्ट्र बैंकबाट जारी नीति–निर्देशनअनुसार बैंकहरूले सर्वसाधारणबाट निक्षेप संकलन गरी मुलुकको आर्थिक वृद्धि, रोजगारी सिर्जना तथा उद्यमशीलता विकासमा योगदान पुर्याउँदै आएको संयुक्त विज्ञप्तिमा उल्लेख गरिएको छ ।

संघहरूले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐनको दफा ५७ ले बैंक तथा वित्तीय संस्थालाई कर्जा असुलीका लागि विशेष अधिकार दिएको स्मरण गराउँदै कर्जा असुली प्रक्रिया बैंकको नियमित कार्यक्षेत्रभित्र पर्ने र प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीभित्रकै विषय भएको बताएका छन् ।



यी समाचार पनि पढ्नुहोस्–
एनआईएमबीले भन्यो– कर्जा असुली प्रक्रिया कानुनसम्मत छ, तै पनि अनुसन्धानमा सहयोग गरिरहेका छौँ