काठमाडौं । गत १४ साउन दिउँसो पाकिस्तानको कराकोरम हिमशृंखलास्थित ८ हजार ४७ मिटर अग्लो ब्रड पिक आरोहणका क्रममा आएको हिमपहिरोमा परेका विश्व कीर्तिमानी नेपाली पर्वतारोही निर्मल पुर्जा (निम्स दाइ) को निधन भएको पुष्टि भएको छ।
उनी आफैं संस्थापक रहेको इलाइट एक्सपेडले विज्ञप्ति जारी गर्दै पुर्जाको मृत्यु भएको आधिकारिक जानकारी दिएको हो।
ब्रड पिक आरोहणका क्रममा आएको हिमपहिरोमा पुर्जासहित ६ नेपाली र ४ विदेशी गरी १० जना बेपत्ता भएका थिए। विश्वको १२औँ अग्लो हिमाल मानिने ब्रड पिक प्राविधिक रूपमा अत्यन्त कठिन र जोखिमपूर्ण हिमालमध्ये एक हो।
ब्रड पिकतर्फ प्रस्थान गर्नुअघि निर्मल पुर्जाले सामाजिक सञ्जालमार्फत अभियानप्रति आफ्नो पूर्ण समर्पण व्यक्त गरेका थिए। उनले सुरक्षित रूपमा शिखर पुगेर सकुशल फर्किन पाउने कामना गर्दै कुनै पनि हिमाललाई कहिल्यै हल्का रूपमा नलिने उल्लेख गरेका थिए।
यसपटकको आरोहण सफल भएको भए चोयु बाहेक ८ हजार मिटरभन्दा अग्ला सबै १४ हिमाल दुई–दुई पटक विनाअक्सिजन आरोहण गर्ने दुर्लभ विश्व कीर्तिमान उनको नाममा थपिने थियो। अघिल्लो सातामात्र उनले पाकिस्तानकै ग्यासरब्रुम–२ हिमाल सफलतापूर्वक आरोहण गर्दै ८ हजार मिटरभन्दा अग्ला हिमालको आफ्नो ५७औँ आरोहण पूरा गरेका थिए।
म्याग्दीमा जन्मिएका निर्मल पुर्जा चितवनमा हुर्किएका थिए। १८ वर्षको उमेरमा सन् २००३ मा उनी बेलायती गोरखा सैनिकमा भर्ती भएका थिए। पछि बेलायतको विशेष सैन्य इकाइ स्पेसल बोट सर्भिस (एसबीएस) मा प्रवेश गर्ने पहिलो गोरखा सैनिक बनेका उनी १६ वर्ष सैन्य सेवामा रहे।
सन् २०१२ बाट पर्वतारोहण यात्रा सुरु गरेका पुर्जाले छोटो समयमै विश्व पर्वतारोहण क्षेत्रमा असाधारण सफलता हासिल गरे। सन् २०१९ मा उनले विश्वका ८ हजार मिटरभन्दा अग्ला सबै १४ हिमाल केवल ६ महिनाभन्दा केही बढी अवधिमा आरोहण गर्दै नयाँ विश्व कीर्तिमान कायम गरेका थिए। यसअघि सो उपलब्धि हासिल गर्न करिब आठ वर्ष लागेको थियो। उनले आफ्नो अभियानलाई ‘प्रोजेक्ट पसिबल’ नाम दिएका थिए।
सन् २०२१ मा उनले १० सदस्यीय नेपाली टोलीसँग मिलेर जाडो मौसममा पहिलो पटक के–टु हिमाल सफलतापूर्वक आरोहण गर्दै अर्को ऐतिहासिक कीर्तिमान पनि बनाएका थिए। उनले पाँच दिनभित्र सगरमाथा, ल्होत्से र मकालु आरोहण गर्ने कीर्तिमानसमेत कायम गरेका थिए।
निर्मल पुर्जा केवल कीर्तिमानी आरोही मात्र नभई हिमालमा उद्धार अभियानका लागि पनि परिचित थिए। संकटमा परेका आरोहीको उद्धार, साहसिक पर्यटनको प्रवर्द्धन तथा नेपाली पर्वतारोहणलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने कार्यमा उनको उल्लेखनीय योगदान रहेको मानिन्छ।
उनले सगरमाथाबाट स्काइडाइभ गरेर साहसिक पर्यटनलाई नयाँ उचाइमा पुर्याएका थिए। पर्वतारोहण क्षेत्रमा पुर्याएको योगदानका लागि बेलायती महारानी एलिजाबेथ द्वितीयबाट एमबीई (Member of the Order of the British Empire) सम्मान पनि प्राप्त गरेका थिए।
निर्मल पुर्जाको निधनसँगै नेपालले विश्व पर्वतारोहण क्षेत्रमा आफ्नो पहिचान स्थापित गरेका एक साहसी, प्रेरणादायी र कीर्तिमानी आरोही गुमाएको छ।