काठमाडौं । गृहमन्त्री रमेश लेखकले कञ्चनपुरको भीमदत्त नगरपालिकाकी निर्मला पन्त बलात्कारपछि हत्या प्रकरण नयाँ शिराबाट गम्भीर अनुसन्धान थाल्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)लाई निर्देशन दिएका छन् ।
आइतबार सीआईबीको कार्यालय निरीक्षणका क्रममा मन्त्री लेखकले सुक्ष्म रुपमा निर्मला पन्त प्रकरण अनुसन्धान गरेर दोषीलाई कारबाहीको दायरामा ल्याउन निर्देशन दिएका हुन् । उनले निर्मला प्रकरणको अनुसन्धानमा कुनै कसर बाँकी नराख्न सीआईबीलाई निर्देशन दिएका छन् ।
उनले भने, ‘निर्मला पन्त लगायत ब्युरोले अनुसन्धान गरिरहेको सबै जटिल घटनाको अनुसन्धानमा तिव्रता दिन आग्रह गर्छु । नेपाल प्रहरीभित्र पनि सीआईबीप्रति आमजनताको भरोसा बढेकोछ, यसलाई अटल राखेर काम गर्नुपर्छ ।’
उनले सीमित स्रोत साधनका बिच प्रहरीमा सीआईबीले कार्यसम्पादनमा सफलता हासिल गर्दै गएकोप्रति खुसी व्यक्त गर्दै मन्त्री लेखकले सीआईबीलाई साधनस्रोत सम्पन्न बनाउन मन्त्रालय गम्भीर रहेको बताए । मुलुकमा पछिल्लो समय बित्तिय अपराध बढेकाले आफूले बित्तिय अपराध नियन्त्रणका लागि बित्तिय अपराध अनुसन्धान महाशाखा गठन गरेको जानकारी दिए ।
सो क्रममा सीआईबीका बरिष्ठ प्रहरी उपरीक्षक होविन्द्र बोगटीले सीआईबीले गरिरहेको काम, कारबाही, पाइरहेको सफलता र कार्यसम्पादनमा रहेका चुनौती लगायतका विषयमा प्रस्तुती राखेका थिए ।
बरिष्ठ उपरीक्षक बोगटीले सीआईबीले निर्मला पन्त प्रकरणका साथै अरु घटना सम्वन्धमा पनि अनुसन्धान जारी रहेको जानकारी गराएका थिए । कार्यक्रममा प्रहरी महानिरीक्षक दिपक थापा, सीआईबीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक चन्द्रकुवेर खापुङलगायत सीआईबीका कार्यरत प्रहरी अधिकारी सहभागी थिए ।
FACEBOOK COMMENTS