काठमाडौं । नेपालका लागि निसानको आधिकारिक बिक्रेता पायोनियर मोटोकर्प प्रालिले विश्व बजारमा हालै सार्वजनिक गरिएको निसान टेकटन एसयूभी नाइमा मोबिलिटी एक्सपोमा सार्वजनिक गर्न लागेको छ। उक्त प्रदर्शनी साउन २६ देखि ३१ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुँदैछ।
विश्वव्यापी रूपमा ९ जुलाई २०२६ मा सार्वजनिक गरिएको टेकटन निसानको नयाँ प्रिमियम एसयूभी हो, जसले कम्पनीको एसयूभी लाइनअपमा महत्वपूर्ण स्थान बनाएको छ। आकर्षक डिजाइन, प्रिमियम सुविधा, अत्याधुनिक प्रविधि तथा उत्कृष्ट कार्यसम्पादनको संयोजनसहित टेकटनले नेपालका ग्राहकलाई निसानको नयाँ अनुभव प्रदान गर्ने अपेक्षा गरिएको छ।
निसान पेट्रोलबाट प्रेरित टेकटनले निसानको ७५ वर्ष लामो एसयूभी विरासतलाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ। आकर्षक बडी लाइन, मस्कुलर डिजाइन, सिग्नेचर सी–आकारका एलईडी हेडल्याम्प तथा प्रभावशाली रोड प्रेजेन्सले यसलाई जहाँ पुगे पनि सबैको ध्यान आकर्षित गर्ने एसयूभी बनाएको छ।
टेकटनमा टर्बो चाज्र्ड टी१६० पावरट्रेन उपलब्ध रहेको छ, जसले शक्तिशाली कार्यसम्पादन, उत्कृष्ट एक्सेलेरेसन तथा इन्धन दक्षता प्रदान गर्दछ। फराकिलो केबिन, उत्कृष्ट बुट स्पेस तथा दैनिक प्रयोगदेखि लामो यात्रासम्म सहज बनाउने व्यावहारिक सुविधाले यसलाई पारिवारिक तथा साहसिक यात्राका लागि उपयुक्त एसयूभी बनाएको छ।
सुरक्षाका दृष्टिले पनि टेकटन अत्याधुनिक प्रविधिले सुसज्जित रहेको छ। यसमा स्ट्यान्डर्ड रूपमा ६ वटा एयरब्याग, उच्च–शक्तिको स्टिल बडी स्ट्रक्चर तथा एडप्टिभ क्रुज कन्ट्रोल, अटोनोमस इमर्जेन्सी ब्रेकिङ, लेन किप असिस्ट, ब्लाइन्ड स्पट वार्निङ र ३६० डिग्री क्यामेरा प्रणाली लगायतका उन्नत एडीएएस समावेश गरिएका छन्। त्यसैगरी गुगलको बिउल्ट इन प्रविधिको माध्यमबाट गुगल म्याप, गुगल असिस्टेन्टलगायतका स्मार्ट कनेक्टिभिटी सुविधाले यात्रालाई अझ सहज, सुरक्षित र आधुनिक बनाउनेछ।
नाइमा मोबिलिटी एक्स्पोमा सहभागी आगन्तुकहरूले नयाँ निसान टेकटनलाई नजिकबाट अवलोकन गर्न, यसका विशेषताहरूका बारेमा जानकारी लिन तथा निसानका प्रोडक्ट स्पेसलिस्टहरूसँग प्रत्यक्ष अन्तरक्रिया गर्न सक्नेछन्। टेकटन प्रदर्शनी अवधिभर अगस्ट ११ देखि १६, २०२६ सम्म भृकुटीमण्डपस्थित निसान स्टलमा प्रदर्शन गरिनेछ।