काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हरि ढकालले सिंहदरबारको नाम परिवर्तन गरेर ‘अनामनगर दरबार’ राख्नुपर्ने धारणा राखेपछि नेपालको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको इतिहास फेरि चर्चामा आएको छ ।
काठमाडौंमा आयोजित नेसनल गभर्मेन्स समिट–२०२६ लाई सम्बोधन गर्दै सांसद ढकालले देशमा विभिन्न राजनीतिक परिवर्तनसँगै धेरै स्थानका नाम परिवर्तन भए पनि सिंहदरबारको नाम भने परिवर्तन नभएको बताएका थिए ।
ढकालले भने, ‘परिवर्तन पछाडि सबै ठाउँहरूको नाम परिवर्तन भयो । मतलब एयरपोर्टहरूको, कहाँ—कहाँको नाम फेरिए । तर त्यो सिंहदरबार भन्ने चाहिँ‘न हामीसँग सिंह छ, हामीसँग सिंह छैन । त्यो सिंहदरबार भन्ने चिजको नाम परिवर्तन भएन ।’
आफू समितिको सभापतिको हैसियतमा सिंहदरबारका भित्तातर्फ हेर्दा विगतको शासन व्यवस्थाको अनुभूति हुने भन्दै उनले यसको नाम परिवर्तन गर्नुपर्ने धारणा राखेका हुन् ।
‘परिवर्तन पछाडि दुनियाँ ठाउँको नाम परिवर्तन गर्दैगर्दा त्यसलाई ‘अनामनगर दरबार’ राख्दिएको भए हुन्थ्यो होला । हामीसँग सिंह नै छैन, त्यसको नाम चाहिँ सिंहदरबार नै छ । र त्यसको केही हाउभाउ, भावभङ्गीहरु त्यो भाषा जस्तै छ । त्यो चिर्न पर्ने छ,’ उनले भने ।
ढकालको उक्त अभिव्यक्ति पछि सामाजिक सञ्जालमा सिंहदरबारको नाम, यसको ऐतिहासिक पृष्ठभूमि र नाम परिवर्तनको औचित्यबारे बहस सुरु भएको छ ।
सिंहदरबार कुनै सामान्य सरकारी भवन मात्र होइन । यो राणा प्रधानमन्त्री चन्द्रशमशेरले आफ्नो निवासका रूपमा निर्माण गराएको करिब १ सय २२ वर्ष पुरानो ऐतिहासिक दरबार हो ।
११ महिनामै बनेको थियो सिंहदरबार
चन्द्रशमशेरले विसं १९६० मा करिब ३५० रोपनी जग्गामा सिंहदरबार निर्माण सुरु गराएका थिए । करिब ११ महिनामै यसको निर्माण सम्पन्न भएको बताइन्छ । दरबारको नक्सा नेपाली इन्जिनियर कर्णेल कुमार नरसिंह र भारतीय इन्जिनियर जोगेन्द्रबाबुले तयार गरेका थिए ।
दरबार निर्माणमा नेपाली सैनिकसँगै लामो समयको सजाय भोगिरहेका कैदीहरूलाई समेत काममा लगाइएको इतिहासमा उल्लेख छ । चन्द्रशमशेरले व्यक्तिगत रूपमा करिब २५ लाख रुपैयाँ खर्च गरेको बताइन्छ ।
त्यतिबेला सिंहदरबारमा करिब १ हजार ७ सय कोठा र विभिन्न चोकहरू थिए । यसको वास्तुकलामा नियोक्लासिकल शैलीको प्रभाव देखिन्थ्यो । बाहिरी संरचनामा पश्चिमा शैली झल्किए पनि निर्माणमा आधुनिक सिमेन्टको प्रयोग गरिएको थिएन । बज्र, चाकु र मासको दाललगायत सामग्री प्रयोग गरेर गारो निर्माण गरिएको उल्लेख पाइन्छ ।
आखिर कसरी रह्यो ‘सिंहदरबार’ नाम ?
सिंहदरबारको नाम कसरी रह्यो भन्नेबारे इतिहासमा विभिन्न भनाइ पाइन्छ । इतिहासकार पुरुषोत्तमशमशेर जबराले उल्लेख गरेको विवरण अनुसार, दरबार निर्माण भएपछि एक दिन चन्द्रशमशेर आफ्नी कान्छी बडामहारानी बालकुमारी देवीलाई लिएर दरबारको कौसीमा पुगेका थिए ।
त्यहाँबाट बाघदरबार देखाउँदै चन्द्रशमशेरले ‘ऊ बाघदरबार’ भनेर देखाएपछि बालकुमारी देवीले ‘त्यो बाघदरबार हो भने यो दरबारको नाम सिंहदरबार राखे कसो होला ? ’ भनेर प्रस्ताव गरेकी थिइन् । चन्द्रशमशेरलाई उक्त नाम मन परेपछि दरबारको नाम ‘सिंहदरबार’ राखिएको भनाइ छ ।
तर इतिहासकार राजेश गौतमले भने फरक मत प्रस्तुत गरेका छन् । उनका अनुसार राणाकालीन प्रधानमन्त्रीहरूलाई सिंहजस्तै शक्तिशाली मानिन्थ्यो र चन्द्रशमशेरको जंगी तथा रिसाहा स्वभावलाई समेत सिंहसँग तुलना गरिन्थ्यो । दरबारको अगाडिको छानामा रहेको सिंहको प्रतीकसँग जोडेर मानिसहरूले यसलाई ‘सिंहदरबार’ भन्न थालेको हुन सक्ने उनको मत छ ।
राणा प्रधानमन्त्रीको निवासदेखि राज्यसत्ताको केन्द्रसम्म
चन्द्रशमशेरले सिंहदरबार मूलत: आफ्नो ठूलो परिवार र छोराहरूका लागि निर्माण गराएका थिए । पछि छोराहरूले छुट्टाछुट्टै दरबारमा बस्ने इच्छा देखाएपछि उनले सिंहदरबार राष्ट्रलाई बिक्री गरेर प्रधानमन्त्रीको निवासका रूपमा प्रयोग गर्ने निर्णय गरेको बताइन्छ ।
त्यसपछि सिंहदरबार राणा प्रधानमन्त्रीहरूको निवास मात्र नभई शासन सञ्चालनको प्रमुख केन्द्रसमेत बन्यो । २००७ सालको राजनीतिक परिवर्तनपछि सिंहदरबार श्री ५ को सरकारको स्वामित्वमा आयो । त्यसपछि सरकारी सचिवालय तथा राज्य सञ्चालनको केन्द्रका रूपमा यसको भूमिका स्थापित हुँदै गयो । अहिले सिंहदरबार नेपालको प्रशासनिक संरचना र राज्यसत्ताको प्रमुख प्रतीकका रूपमा परिचित छ ।
आगलागीबाट पनि जोगिएको इतिहास
सिंहदरबारले राजनीतिक परिवर्तनसँगै विभिन्न उतारचढाव पनि बेहोरेको छ । भदौ २३ र २४ को जेन–जी आन्दोलनका क्रममा यसको मूल भवनमा आगलागी भएको थियो ।
तर सिंहदरबारमा आगलागी भएको यो पहिलो घटना भने होइन ।
२०३० साल असार २५ गते सोमबार राति विद्युत् सर्ट भएर सिंहदरबारमा ठूलो आगलागी भएको थियो । उक्त आगलागीमा सिंहदरबारका विभिन्न भवनका बुर्जा, कौसी र छाना जलेका थिए भने महत्वपूर्ण कागजपत्रसमेत नष्ट भएका थिए ।
एक शताब्दी भन्दा लामो इतिहास बोकेको सिंहदरबार अहिले नेपालको शासन सञ्चालनको केन्द्र मात्र नभई देशको राजनीतिक र प्रशासनिक इतिहाससँग जोडिएको महत्वपूर्ण प्रतीकसमेत हो ।
त्यसैले सांसद हरि ढकालले यसको नाम परिवर्तन गरेर ‘अनामनगर दरबार’ राख्नुपर्ने धारणा राखेपछि सिंहदरबारको नाम परिवर्तन गर्ने विषयसँगै यसको इतिहास र पहिचानबारे पनि बहस चर्किएको ह ।