काठमाडौं । नेपाल उद्योग वाणिज्य संघ काठमाडौंको आयोजनामा ‘विद्यमान आपूर्ति प्रणालीका समस्या तथा समाधान’ विषयक अन्तरक्रिया कार्यक्रम आयोजना हुने भएको छ।
कार्यक्रम असोज ५ गते सोमबार काठमाडौंस्थित एल्लो प्यागोडामा आयोजना गरिने आयोजकले जनाएको छ।
आपूर्ति प्रणालीमा देखिएका वर्तमान समस्या, त्यसका कारण तथा समाधानका सम्भावित उपायबारे सम्बन्धित पक्षबीच छलफल गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको हो।
कार्यक्रममा नेपाल सरकारका प्रतिनिधि, विभिन्न सरकारी विभागका अधिकारी, उद्योगी–व्यवसायी तथा आपूर्ति प्रणालीसँग प्रत्यक्ष सरोकार राख्ने विभिन्न निकायका प्रतिनिधिहरूको सहभागिता रहने जनाइएको छ।
कार्यक्रममा आपूर्ति व्यवस्थापनका क्रममा देखिएका व्यावहारिक समस्या, सरकारी निकाय र निजी क्षेत्रबीचको समन्वय तथा आपूर्ति प्रणालीलाई थप प्रभावकारी बनाउन आवश्यक सुधारका विषयमा छलफल हुने अपेक्षा गरिएको छ।

आयोजकले कार्यक्रममा सम्बन्धित क्षेत्रका सरोकारवालाले आफ्ना अनुभव, समस्या तथा सुझाव प्रस्तुत गर्ने जनाएको छ । छलफलबाट आपूर्ति प्रणालीमा देखिएका समस्याको पहिचान गर्दै समाधानका लागि आवश्यक पहल अघि बढाउन सहयोग पुग्ने विश्वास लिइएको छ।