महोत्तरी । महोत्तरीको सम्सी गाउँपालिका–५ का २४० स्ववासी परिवारले नापजाँच सम्पन्न भएको करिब ११ वर्षपछि जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) प्राप्त गरेका छन् ।
साविक पोखरीभिन्दा संग्रामपुर गाविसका वडा नं. १ देखि ९ सम्मका बासिन्दाले लामो समयदेखि भोगचलन गर्दै आएको जग्गाको कानुनी स्वामित्व पाएका हुन् । नापी कार्यालय महोत्तरीले आवश्यक कानुनी प्रक्रिया पूरा गरी उनीहरूलाई लालपुर्जा वितरण गरेको हो ।
उक्त क्षेत्रको नापजाँच २०७२ सालमै सम्पन्न भएको थियो। तर नापनक्सा सकिए पनि कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा हुन नसक्दा लालपुर्जा वितरण रोकिएको थियो । लामो समयदेखि अल्झिएको प्रक्रिया अघि बढेपछि अहिले २४० परिवारले जग्गाधनी प्रमाणपुर्जा पाएका हुन् ।
लालपुर्जा प्राप्त भएसँगै स्थानीयले आफ्नो जग्गामाथिको कानुनी स्वामित्व स्थापित गरेका छन् । यसले जग्गासम्बन्धी विवाद समाधान गर्न तथा बैंक र वित्तीय संस्थामा जग्गा धितो राखेर ऋण लिन सहज हुने अपेक्षा गरिएको छ ।