काठमाडौं । नेपाल रेडक्रस सोसाइटीको सदस्यता अब मोबाइल एपबाटै अनलाइन लिन सकिने भएको छ । सदस्यता लिन सहज बनाउन सोसाइटीले मोबाइल एपमार्फत सदस्यता वितरण प्रणाली सुरु गरेको हो ।
नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष डा. विशालकुमार भण्डारीले सदस्यता लिन असहज भएको लामो समयदेखिको गुनासो सम्बोधन गर्न मोबाइल एप सुरु गरिएको बताए ।
उनका अनुसार अब सदस्यता लिन रेडक्रसका कार्यालय धाउनुपर्ने बाध्यता हट्नेछ । मोबाइल एपबाटै सदस्यता फाराम भर्न र तोकिएका सर्त पूरा गरेपछि डिजिटल परिचयपत्र तथा प्रमाणपत्र प्राप्त गर्न सकिनेछ ।
सदस्यता लिन इच्छुक व्यक्तिले मोबाइलको प्ले स्टोरमा गएर ‘NRCS’ एप डाउनलोड गरी प्रक्रिया पूरा गर्न सक्नेछन् ।
यसअघि सदस्यता लिइसकेका व्यक्तिले पनि अनलाइन प्रणालीमार्फत आफ्नो सदस्यता अनिवार्य रूपमा अध्यावधिक गर्नुपर्ने सोसाइटीले जनाएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले रेडक्रसको सदस्यता वितरण प्रक्रियालाई पारदर्शी र सहज बनाउन तदर्थ समितिलाई कार्यशर्त दिएको थियो । सोहीअनुसार सोसाइटीले अनलाइन सदस्यता प्रणाली सुरु गरेको हो ।

अनलाइन सदस्यता लिन वा पुरानो सदस्यता अध्यावधिक गर्ने क्रममा समस्या भएमा तथा थप जानकारी आवश्यक परेमा नेपाल रेडक्रस सोसाइटीमा सम्पर्क गर्न अनुरोध गरिएको छ ।
