काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सोमबारको नियमित धितोपत्र कारोबार स्थगित गरेको छ।
ब्रोकर कम्पनीहरूको सर्भर राखिएको डाटा सेन्टरमा आएको प्राविधिक समस्याका कारण कारोबार रोकिएको नेप्सेले जनाएको छ।
नेप्सेका अनुसार ७२ कारोबार सदस्य (ब्रोकर) कम्पनीहरूको सर्भर रहेको डाटा हब प्रालिमा असोज ४ गते बिहानदेखि प्राविधिक समस्या देखिएको थियो। समस्या समाधानका लागि पहल भइरहे पनि सोमबारसम्म पूर्ण रूपमा समाधान हुन नसकेको नेप्सेले जनाएको छ।
स्टक ब्रोकर एसोसिएसन अफ नेपालले समेत हालको अवस्थामा कारोबार सञ्चालन गर्दा नेप्सेको कारोबार प्रणालीमा नै क्षति पुग्न सक्ने भन्दै नियमित कारोबार सत्र स्थगन गर्न अनुरोध गरेको थियो।
उक्त अनुरोध तथा विद्यमान अवस्थालाई मध्यनजर गर्दै नेप्सेले धितोपत्र सूचीकरण तथा कारोबार नियमावली, २०७५ को नियम २१ (१) बमोजिम असोज ५ गतेको कारोबार स्थगित गर्ने निर्णय गरेको जनाएको छ।
