काठमाडौं । पर्यटकलाइ घुमाउँदै बसमै पार्टीको मनोरंजन दिने लक्षसहित ‘पार्टी बस नेपाल’ पुन: सञ्चालन (रिलन्च) मा आएको छ ।
‘रेस नेपाल प्रालि’ द्वारा सञ्चालित यस पार्टी बसको एक विशेष समारोहबीच औपचारिक पुन सुरूआत गरिएको हो। पार्टी बस नेपालमा बसमा चढेर घुम्दै, खानपिन, नाचगान गर्दै मनोरंजन लिन सकिन्छ ।
यस आधुनिक बसमा ३० जनाले पार्टी गर्न सकिने क्षमता छ। बसमा प्रवेश गर्दा कुनै सुविधासम्पन्न लाउन्ज वा क्लबमा प्रवेश गरेको झल्को आउँछ। आकर्षक नियोन लाइट, आरामदायी लक्जरी सोफा, खानपिनका लागि सुसज्जित बार र बीच भागमा डान्स पोलको समेत व्यवस्था गरिएको छ।
रिलन्च कार्यक्रमका सहभागीहरू शक्तिशाली म्युजिक सिस्टममा गुञ्जिएका गीतको तालमा बसभित्रै नाचगान गर्दै र सिटमा झुम्दै यात्राको आनन्द लिइरहेका देखिन्थे।
बाहिरबाट आकर्षक बैजनी र कालो रंगको ‘नाइट लाइफ’ थिम दिइएको यो बस गुडिरहँदा सडकमा समेत विशेष आकर्षणको केन्द्र बनेको थियो। बसले पार्टीमा सहभागीहरूलाइ दरबारमार्गबाट चक्रपथ परिक्रमा गराएको थियो।

कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) समीर श्रेष्ठले ‘नेपाल भ्रमण वर्ष २०२०’ लाई लक्षित गरी पहिलोपटक मोबाइल मनोरञ्जनको नयाँ अवधारणासहित यसको सुरुआत गरिएको स्मरण गरे।

उनले भने, “कोभिड महामारीका कारण व्यवसाय रोक्नुपर्ने अवस्था आएपछि हामीले यसलाई बन्द नगरी भारतमा पुर्याएर निरन्तरता दिएका थियौँ। तर यसको वास्तविक पहिचान र आवश्यकता नेपालमै भएकाले स्वदेशी पर्यटन उद्योगलाई सघाउन हामी फेरि यसलाई आफ्नै घर फर्काएर ल्याएका छौँ।”
सीईओ श्रेष्ठका अनुसार कम्पनीले अब सेवा विस्तारको नयाँ योजना अघि सारेको छ। निकट भविष्यमै नेपालका प्रमुख सहरहरूमा सेवा विस्तार गर्दै कारभान र क्याम्पर भ्यानहरूसमेत सञ्चालनमा ल्याइने उनले बताए।
चलिरहेको बसभित्रै उत्कृष्ट संगीत, बार सुविधा र नाचगानको अनौठो संगम प्रदान गर्ने ‘पार्टी बस’ नेपाली पर्यटन बजारमा युवापुस्ता तथा पर्यटकहरूका लागि पुन: एक नयाँ र आकर्षक गन्तव्य बन्ने अपेक्षा गरिएको छ।