काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघकी पूर्वअध्यक्ष भवानी राणाको स्वरमा रहेको ‘शिव ताण्डव’ सार्वजनिक भएको छ ।
ललितपुरको पाटनस्थित पाटन संग्रहालयमा आइतबार आयोजित विशेष कार्यक्रममा राणाको स्वरमा रहेको उक्त गीत सार्वजनिक गरिएको हो ।
राणा र सरस्वती खत्रीको स्वर रहेको ‘शिव ताण्डव’मा सुरसुधा सुरेन्द्रको संगीत रहेको छ । धार्मिक तथा सांस्कृतिक भाव बोकेको गीतमार्फत भगवान् शिवसँग जोडिएको नेपाली मौलिक संस्कृति, परम्परा र आध्यात्मिक पक्षलाई प्रस्तुत गर्ने प्रयास गरिएको छ ।
गीतले शिवप्रतिको आस्था र नेपाली समाजमा रहेको धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई संगीतका माध्यमबाट अभिव्यक्त गरेको छ ।


‘शिव ताण्डव’ ओएसारको युट्युब च्यानलमार्फत समेत सार्वजनिक गरिएको छ । गीत सार्वजनिक भएसँगै यसले धार्मिक तथा सांस्कृतिक विषयवस्तुलाई संगीतमार्फत प्रस्तुत गर्ने नयाँ प्रयासका रूपमा समेत चर्चा पाएको छ ।


गीत सार्वजनिक गर्न आयोजित कार्यक्रममा कूटनीतिक, व्यावसायिक, कला, संगीत तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रममा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव, ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन, फ्रान्सका लागि नेपालका पूर्वराजदूत मोहनकृष्ण श्रेष्ठ, गैरआवासीय नेपाली संघ (एनआरएनए) का संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो, नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष रविभक्त श्रेष्ठ, वर्तमान उपाध्यक्ष प्रबलजंग पाण्डे तथा अभिनेत्री स्वयता खड्कालगायतको सहभागिता रहेको थियो ।

कार्यक्रममा सहभागी अतिथिहरूले नेपाली कला, संगीत, संस्कृति र आध्यात्मिक परम्परालाई जोड्ने यस्ता सिर्जनाले मौलिक सांस्कृतिक पहिचानलाई प्रवद्र्धन गर्न सहयोग पुग्ने धारणा व्यक्त गरेका थिए ।
विशेषगरी भगवान् शिवसँग सम्बन्धित धार्मिक तथा सांस्कृतिक पक्षलाई गीत–संगीतमार्फत प्रस्तुत गरिनुले नेपाली मौलिक परम्परालाई नयाँ पुस्तासम्म पुर्याउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
‘शिव ताण्डव’मार्फत भवानी राणाले व्यावसायिक तथा सार्वजनिक जीवनसँगै कला र संगीतको क्षेत्रमा पनि आफ्नो रुचि प्रस्तुत गरेकी छन् ।
धार्मिक एवं सांस्कृतिक विषयवस्तुलाई केन्द्रमा राखिएको यस गीतमा राणा र सरस्वती खत्रीको स्वर तथा सुरसुधा सुरेन्द्रको संगीत संयोजन रहेको छ ।