काठमाडौं । विज्ञान प्रविधि मन्त्री महावीर पुनको राजीनामा माग गर्दै नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानका कर्मचारीहरु आन्दोलित भएका छन् ।
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठानको ऐन तथा नियमावलीका सम्बन्धमा सरोकारवालाहरूसँग कुनै छलफल नै नगरी अध्यादेश ल्याइएको भन्दै विरोध प्रदर्शन भएको छ।
विज्ञान, प्रविधि तथा नवप्रवर्तन महावीर पुनले नैतिक जिम्मेवारी लिई तत्काल राजीनामा दिनुपर्ने माग गर्दै उनीहरूले विरोध प्रदर्शन गरेका छन् ।
प्रतिष्ठानको प्राङ्गणमा प्रदर्शन गर्दै उनीहरूले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठानको ऐन तथा नियमावली सरोकारवालाहरूसँग छलफल नगरी ल्याइएको र आफ्ना सुझावहरू बेवास्ता गरिएको बताएका छन् ।
विरोध कार्यक्रममा बोल्दै प्राविधिक अधिकृत समुन्द्र कँडेलले नेपाल विज्ञान, प्रविधि तथा नवप्रवर्तन प्रज्ञा प्रतिष्ठान अध्यादेश, २०८३ र नियमावली वैज्ञानिक तथा कर्मचारीमैत्री नभएको बताए ।

सुधारका नाममा विद्यमान संस्था कमजोर पार्ने, विज्ञान क्षेत्रलाई रिक्ततामा धकेल्ने र दक्ष जनशक्ति पलायन गराउने कदम स्वीकार्य नहुने चेतावनीसमेत उनले दिए ।

अब बनाइने विज्ञान नीतिले देशको विज्ञान तथा अनुसन्धानको भविष्यको मार्ग निर्धारण गर्ने कँडेलले बताए ।

उनले नेपाल विज्ञान, प्रविधि तथा नवप्रवर्तन प्रज्ञा प्रतिष्ठान अध्यादेश, २०८३ तथा नियमावली वैज्ञानिकमैत्री नभएकाले तत्काल खारेज गर्न माग गरे ।

अध्यादेश र नियमावलीका नाममा भएको मनोमानी तथा नवनियुक्त समिति सदस्यलाई समेत जानकारीमा नराखी निर्णय गर्ने काम बन्द गर्न, संस्थामाथि मन्त्रालय र मन्त्रीको दबाब तथा हस्तक्षेप अन्त्य गर्न उनीहरूले माग गरेका छन् ।