काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रस्तावित लाभांश प्राप्त गर्न आज अर्थात मंसिर १३ गते सम्म सेयर खरिद गर्नुपर्नेछ।
बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ मंसिर १४ गते बुकक्लोज गर्ने भएकाले आजसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीले मात्रै लाभांश प्राप्त गर्न सक्नेछन्।
बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।
उक्त प्रस्ताव पारित गर्न बैंकले मंसिर २५ गते शुक्रबार काठमाडौँको कमलपोखरीस्थित अग्रवाल भवनमा २६औँ वार्षिक साधारण सभा बोलाएको छ। सभा बिहान १० बजे सुरु हुनेछ।
साधारण सभाले बोनस तथा नगद लाभांश वितरण गर्ने प्रस्तावका अतिरिक्त बैंकको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्ताव पारित गर्नेछ।
