काठमाडौँ । उत्तर कोरियाका सर्वोच्च नेता किम जोंग उनले सैन्य शक्ति प्रदर्शनका क्रममा ५० वटा नयाँ रकेट प्रक्षेपक तैनाथ गरेका छन् ।
ती प्रक्षेपकहरू छोटो दूरीका क्षेप्यास्त्र प्रहार गर्न सक्षम रहेको र तीमध्ये केही परमाणु अस्त्र बोक्न सक्ने क्षमतायुक्त मानिएको अन्तर्राष्ट्रिय विश्लेषणमा उल्लेख छ । यसलाई दक्षिण कोरियाका लागि गम्भीर सुरक्षा चुनौतीका रूपमा हेरिएको छ ।
उत्तर कोरियाको सरकारी सञ्चारमाध्यमका अनुसार नयाँ प्रक्षेपकहरूलाई एक विशेष समारोहमार्फत सार्वजनिक रूपमा प्रदर्शन गरिएको थियो । सत्तारूढ दलको आगामी महाधिवेशनअघि यो कदम चालिएको हो । सो महाधिवेशनमा किमले सैन्य क्षमतालाई थप सुदृढ गर्ने नयाँ योजनाहरू घोषणा गर्न सक्ने अनुमान गरिएको छ ।
यी प्रक्षेपकहरू ६०० मिलिमिटर बहु–रकेट प्रणालीसँग सम्बन्धित छन् । आधुनिक निर्देशन प्रविधि र कृत्रिम बुद्धिमत्ता आधारित प्रणाली जडान गरिएको दाबी गरिएको छ । विज्ञहरूका अनुसार यो प्रणाली पारम्परिक तोपखाना र ब्यालिस्टिक क्षेप्यास्त्रबीचको प्रविधिसँग मिल्दोजुल्दो प्रकृतिको छ ।
विशेषज्ञहरूले दक्षिण कोरियाको क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीलाई छल्न सक्ने उद्देश्यले यस्ता प्रणाली विकास गरिएको हुन सक्ने बताएका छन् ।

यसैबीच किम जोंग उनकी बहिनी किम यो जोंगले दक्षिण कोरियाका एक मन्त्रीले कथित मानवरहित हवाई उपकरण प्रवेशबारे माफी मागेको दाबी गरेकी छन् । उनले उत्तर कोरियाले सीमा सुरक्षा अझ कडा बनाउने चेतावनी दिँदै पुन: यस्ता गतिविधि दोहोरिए बल प्रयोग गरी जवाफ दिने बताएकी छन् ।

सन् २०१९ मा अमेरिका र उत्तर कोरियाबीचको परमाणु वार्ता असफल भएपछि दुई कोरियाबीचको सम्बन्ध निरन्तर तनावपूर्ण बन्दै गएको छ । पछिल्ला वर्षहरूमा किम जोंग उनले ‘शान्तिपूर्ण एकीकरण’को नीति परित्याग गर्दै दक्षिण कोरियालाई औपचारिक रूपमा शत्रु राष्ट्र घोषणा गरेका छन् । विश्लेषकहरूका अनुसार पछिल्लो सैन्य प्रदर्शनले कोरियाली प्रायद्वीपमा सुरक्षा चिन्ता अझ गहिरो बनाएको छ।

FACEBOOK COMMENTS