काठमाडौं । पब्लिक कम्पनी बनेसँगै नर्भिक इन्टरनेशनल हस्पिटल एण्ड मेडिकल कलेज लिमिटेडले आफ्नो पहिलो वार्षिक साधारणसभा (एजीएम) आह्वान गरेको छ ।
नर्भिकको पुस ७ गते बसेको सञ्चालक समितिको बैठकले पहिलो वार्षिक साधारणसभा आगामी पुस २८ गते बुधबारका दिनका लागि आह्वान गरेको हो । सो दिन थापाथलीस्थित बीएलसी होल्डिङको बोर्ड रुममा साधारणसभाका कार्यक्रमहरू सञ्चालन हुने उल्लेख गर्दै नर्भिकले सेयरधनीहरूलाई सहभागिताका लागि आह्वान गरेको छ । साधारणसभा सो दिन ११ः३० बजेबाट शुरू हुने सूचनामा उल्लेख छ ।
पहिलो वार्षिक साधारणसभामा सञ्चालक समितिले तयार गरेको आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने अजेण्डा राखिएको छ ।
यस्तै, सभाका अन्य अजेण्डाहरूमा लेखापरीक्षकको प्रतिवेदनसहित २०७८ असार मसान्तसम्मको कम्पनीको वार्षिक आर्थिक विवरणहरूमा छलफल गरी पारित गर्ने, कम्पनी ऐन, २०६३ दफा १११ अनुसार आर्थिक वर्ष २०७७/०७८ का लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने, संस्थापक शेयरधनीहरूको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालकको निर्वाचन गर्ने तथा सञ्चालक समितिको भत्ता अनुमोदन गर्ने र संस्थापक तथा सञ्चालक समितिले गरेको आवशयक निर्णयहरू अनुमोदन गर्नेलगायत छन् ।
नर्भिक अस्पताल पब्लिक कम्पनीमा रूपान्तरण भएसँगै सर्वसाधारणका लागि समेत साधारण सेयरको निष्काशन गर्ने योजनाका साथ अगाडि बढिरहेको देशकै पहिलो अस्पताल पनि हो ।
अस्पतालले साधारण सेयरहरूको प्राथमिक निश्कासन (आइपीओ) जारी गर्ने अजेण्डा समेत यसअघि सार्वजनिक गरे पनि पहिलो वार्षिक साधारणसभा भएका कारण र कतिपय नियामकीय व्यवस्था प्रक्रियामै रहेका कारण सो अजेण्डा एजीएममा समेटिएको छैन ।
FACEBOOK COMMENTS