काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा हेमराज शर्मा सर्वसम्मत चयन भएका छन् ।
अध्यक्ष पदका प्रत्यासी रविन बज्राचार्यले आइतबार साँझ पत्रकार सम्मेलन गरेर समर्थन गरेपछि शर्मा सर्वसम्मत अध्यक्ष बनेका हुन् ।
बज्राचार्यले एकताको महाधिवेशन भएको र निर्वाचनमा जाँदा संघलाई आर्थिक भार पर्ने भएकोले अध्यक्षमा शर्मालाई समर्थन गरेको जानकारी गराए ।
अध्यक्षबाट पछि हटेका बज्राचार्य उपाध्यक्ष पदमा रहने भएका छन् भने यसअघि उम्मेदवारी फिर्ता लिएका रविन शेरचनलाई पनि उपाध्यक्ष पद दिइने सहमति भएको छ ।
यससँगै एनआरएनएको सबै कार्यसमिति सहमतिमै चयन हुने भएको छ । अब निर्वाचन समितिले सर्वसम्मत निर्वाचित समितिको घोषणा सोमबार गर्ने बताएको छ ।

एनआरएनएको १२ औं महाधिवेशन फागुन ३० मा काठमाडौंमा सुरु भएको हो । सोमबार सम्पन्न हुने महाधिवेशनको समापन चैत्र २ गते प्रधानमन्त्री सुशिला कार्कीले गर्ने कार्यक्रम रहेको छ ।

महाधिवेशनमा नेपाल सरकारका प्रतिनिधिहरू, विभिन्न राष्ट्रिय समन्वय परिषद्का गैरआवासीय नेपाली प्रतिनिधिहरू, एनआरएनका अभियन्ताहरू तथा स्वदेशी र विदेशी विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहको छ ।


FACEBOOK COMMENTS