काठमाडौँ । परराष्ट्र मन्त्रालयले गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ महाधिवेशनमा विधानअनुसार अनलाइन सहभागिता समेत सुनिश्चित गरी सञ्चालन गर्न निर्देशन दिएको छ ।
मन्त्रालयले संघलाई पत्र लेख्दै भौतिक रुपमा उपस्थित हुन नसक्ने प्रतिनिधिहरुको लागि अनलाइन मार्फत निर्वाचन मतदानको व्यवस्था गर्न निर्देशन दिएको हो ।
मन्त्रालयले पत्रमा भनेको छ– ’गैरआवासीय नेपाली संघको विधान २००३ (संसोधन २०२२) को दफा १४ र सोही विधानको दफा २१.१० मा व्यवस्था भए बमोजिम “निर्वाचन अनलाइन अथवा भौतिक रुपमा उपस्थित भई गर्न सकिनेछ । भौतिक रुपमा उपस्थित हुन नसक्ने प्रतिनिधिहरुको लागि अनलाइन मार्फत निर्वाचन मतदानको व्यवस्था गर्नु पर्नेछ ।’ भन्ने व्यवस्था भए बमोजिम अधिकतम प्रतिनिधि भौतिकरुपमा उपस्थित हुने र उपस्थित हुन नसक्नेको हकमा विधानको व्यवस्था बमोजिम अनलाइनमार्फत सहभागी हुने गरी गैरआवासीय नेपाली संघको निर्वाचन प्रक्रिया अगाडि बढाउन उपयुक्त हुने यस मन्त्रालयको राय रहेको व्यहोरा निर्देशानुसार अनुरोध छ ।’
परराष्ट्र मन्त्रालयले विश्वभर छरिएर रहेका गैरआवासीय नेपालीहरूको सहभागिता सुनिश्चित गर्नु संघको दायित्व भएको उल्लेख गर्दै, त्यसअनुसार आवश्यक प्राविधिक र व्यवस्थापकीय तयारी गर्न आग्रह गरेको छ ।
FACEBOOK COMMENTS