काठमाडौं । पछिल्लो समय आएको बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकलाई सहयोग गर्ने उद्देश्यले काठमाडौंस्थित युनिग्लोबल इन्टरनेसनल एजुकेसनल फाउन्डेसनले नुवाकोट तथा गल्छी क्षेत्रका बाढी प्रभावित परिवारलाई राहत सामग्री वितरण गरेको छ ।
फाउन्डेसनका संस्थापक तथा कन्सल्टेन्सी व्यवसायी एवं सामाजिक अभियन्ता सञ्जीव लम्सालसहितको टोलीले प्रभावित क्षेत्रमा पुगेर राहत सामग्री वितरण गरेको हो ।
बाढीका कारण दैनिक जीवन प्रभावित भएका स्थानीय बासिन्दालाई सहयोग पुर्याउने उद्देश्यले विशेषगरी विद्यार्थीलाई झोला, एक दर्जन कापी, कलम तथा ज्योमेट्री बक्स वितरण गरिएको थियो । त्यसैगरी खाद्यान्न, चप्पल, टेन्ट, कराई, कुकर, ओढ्ने–ओछ्याउने सामग्रीलगायत आवश्यक राहत सामग्रीसमेत वितरण गरिएको फाउन्डेसनले जनाएको छ ।
राहतका लागि आवश्यक सामग्री नेपालका विभिन्न संघसंस्था तथा सहयोगी व्यक्तिहरूबाट संकलन गरिएको थियो । हङकङस्थित नेचुरल साउण्ड हिलिंग इन्टरनेशनल स्कुलका विद्यार्थीबाट समेत राहत सामग्रीका लागि सहयोग प्राप्त भएको जनाइएको छ । विदेशमा रहेका नेपाली तथा सहयोगी मन भएका व्यक्तिहरूबाट प्राप्त सामग्री प्रभावित क्षेत्रमा पुर्याई आवश्यकताअनुसार वितरण गरिएको हो ।
राहत वितरणका क्रममा लम्सालसहितको टोलीले प्रभावित परिवारसँग प्रत्यक्ष भेटघाट गरी उनीहरूको अवस्था तथा आवश्यकताबारे जानकारीसमेत लिएको थियो ।
लम्सालले विपद्को समयमा प्रभावित नागरिकलाई सहयोग गर्नु सामाजिक उत्तरदायित्व भएको भन्दै आगामी दिनमा पनि आवश्यकता र परिस्थितिअनुसार सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे ।

उनले सरकारले आफ्नो तर्फबाट काम गरिरहेको भए पनि जिम्मेवार नागरिकको हैसियतले विपद्को घडीमा सबैले आ–आफ्नो ठाउँबाट सक्दो सहयोग गर्नुपर्ने बताए । सबैको सहकार्यबाट मात्रै प्रभावित क्षेत्रलाई पुरानै अवस्थामा फर्काउन सहज हुने उनको भनाइ छ ।

लम्साल लामो समयदेखि शिक्षा तथा कन्सल्टेन्सी व्यवसायमा सक्रिय रहँदै आएका छन् । व्यवसायसँगै सामाजिक उत्तरदायित्वलाई समेत प्राथमिकतामा राख्दै विपद् प्रभावित नागरिकलाई सहयोग गर्दै आएको जनाइएको छ ।
बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकलाई सरकारी तथा गैरसरकारी निकायसँगै निजी क्षेत्र, व्यवसायी तथा सामाजिक अभियन्ताहरूले समेत सहयोग र सहकार्यलाई निरन्तरता दिनुपर्ने आवश्यकता रहेको फाउन्डेसनले जनाएको छ ।
मानवीय सेवाको भावनासहित गरिने यस्ता सहयोगले विपद्का बेला सामाजिक एकता, सहकार्य र उत्तरदायित्वको भावना थप बलियो बनाउने अपेक्षा गरिएको छ ।