काठमाडौँ । कैलालीको गौरीगंगा नगरपालिका–४ स्थित कालिका माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समिति सदस्य देवबहादुर बमविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस/रिसवत लिई भ्रष्टाचार गरेको आरोपमा विशेष अदालत काठमाडौँमा आरोप पत्र दायर गरेको छ।
अख्तियारका अनुसार बमले विद्यालयमा तोकिएबमोजिमको थप सेवा सुविधा तथा पारिश्रमिक उपलब्ध गराउन निर्णय गरिदिने भन्दै सेवाग्राहीसँग घुस मागेको आरोपमा अनुसन्धान गरिएको थियो। आयोगको कार्यालय कञ्चनपुरबाट खटिएको टोलीले उनलाई सेवाग्राहीबाट दुई लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो।
अनुसन्धानबाट बमले विद्यालय व्यवस्थापन समितिको सदस्यको हैसियतमा जिम्मेवारी बहन गर्ने क्रममा बदनियतपूर्ण तवरले सेवा सुविधा उपलब्ध गराउन निर्णय गरिदिने भन्दै सेवाग्राहीसँग बार्गेनिङ गरी आफ्नो निम्ति दुई लाख रुपैयाँ घुस लिएको पुष्टि भएको अख्तियारले जनाएको छ।
अख्तियारले उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर भएको ठहर गरेको छ। सोही आधारमा बमविरुद्ध दुई लाख रुपैयाँ बिगो कायम गरी ऐनको दफा ३ को उपदफा (१) को देहाय (ग) बमोजिम कैद तथा दफा ३ को उपदफा (१) बमोजिम बिगोबमोजिम जरिवाना हुन माग दाबी गरिएको छ।