काठमाडौं । नेपाली युवा उद्यमी मञ्च (एनवाईईएफ) काठमाडौं च्याप्टरको आठौं वार्षिक साधारण सभाले अनुभव श्रेष्ठलाई नयाँ अध्यक्षमा निर्वाचित गरेको छ। साधारण सभाले आगामी कार्यकालका लागि नयाँ कार्यसमिति समेत चयन गर्दै युवा उद्यमशीलता, नवप्रवर्तन र नेतृत्व विकासलाई अझ प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको हो।
पदभार ग्रहणपछि नवनिर्वाचित अध्यक्ष श्रेष्ठले विश्वास, सहकार्य, निरन्तर सिकाइ र साझा उद्देश्यमा आधारित सशक्त तथा एकताबद्ध एनवाईईएफ काठमाडौं निर्माण गर्ने आफ्नो प्रतिबद्धता व्यक्त गरे। उनले एनवाईईएफलाई केवल व्यवसायिक सञ्जाल (नेटवर्किङ) मा सीमित नराखी युवा उद्यमीहरूले मार्गदर्शन, सहकार्य, अवसर र अपनत्व महसुस गर्ने साझा मञ्चका रूपमा थप सुदृढ बनाउने लक्ष्य रहेको बताए।
उनले एनवाईईएफले आफ्नो व्यक्तिगत तथा व्यावसायिक यात्रामा महत्वपूर्ण योगदान दिएको उल्लेख गर्दै अब यस संस्थालाई नेपालको युवा उद्यमशीलताको भविष्य निर्माण गर्ने अग्रणी संस्थाका रूपमा स्थापित गर्न आफू प्रतिबद्ध रहेको बताए। उनका अनुसार उद्यमशीलता केवल व्यवसाय सञ्चालन गर्ने माध्यम मात्र नभई रोजगारी सिर्जना, नवप्रवर्तनको प्रवर्द्धन, सामाजिक समस्याको समाधान तथा नेपालको दीर्घकालीन आर्थिक समृद्धिको प्रमुख आधार हो।
अध्यक्ष श्रेष्ठले पछिल्ला केही वर्षयता व्यवसायिक क्षेत्रमा देखिएका चुनौतीका बाबजुद नेपाली उद्यमीहरूले प्रदर्शन गरेको धैर्यता र दृढताको प्रशंसा गरे। आर्थिक संक्रमणको समयमा नयाँ सोच, नवप्रवर्तन र दूरदर्शी नेतृत्वको आवश्यकता झन् बढी हुने उल्लेख गर्दै उनले युवा उद्यमीहरूलाई परिवर्तनका संवाहक, नवप्रवर्तक तथा नेतृत्वदायी भूमिकामा अघि बढ्न आग्रह गरे।

उनले आगामी कार्यकालमा एनवाईईएफ काठमाडौंलाई ज्ञान आदान–प्रदान, मार्गदर्शन (मेन्टरसिप), जिम्मेवार व्यवसायिक नेतृत्व तथा साझा सफलताको संस्कृतिमा आधारित संस्थाका रूपमा विकास गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साझेदारीलाई थप विस्तार गर्ने योजना पनि सार्वजनिक गरे।
कार्यक्रममा प्रतिनिधिसभा सदस्य गणेश पराजुलीले नेपालको आर्थिक रूपान्तरणमा युवा उद्यमीहरूको भूमिका अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गर्दै नवप्रवर्तन, रोजगारी सिर्जना र निजी क्षेत्रको विस्तारमार्फत मुलुकको समृद्धिमा युवाले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने बताए।
पराजुलीले नेपालको जनसांख्यिक लाभलाई आर्थिक समृद्धिमा रूपान्तरण गर्न युवाहरूलाई उद्यमशीलता र नवप्रवर्तनतर्फ आकर्षित गर्न आवश्यक रहेको उल्लेख गरे। उनले युवा उद्यमीमैत्री वातावरण निर्माणका लागि नीति निर्माता र निजी क्षेत्रबीच निरन्तर सहकार्य अपरिहार्य रहेको धारणा पनि राखे।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले नेपालको आर्थिक भविष्य निर्माणमा युवा उद्यमीहरूको असाधारण सम्भावना रहेको बताए। उनले नेपाली युवामा रहेको सिर्जनशीलता, प्रविधिमैत्री सोच, विश्वव्यापी दृष्टिकोण तथा जोखिम उठाउने क्षमता नेपालको आर्थिक रूपान्तरणका लागि महत्वपूर्ण पूँजी भएको उल्लेख गरे।
उनले एनवाईईएफजस्ता संस्थाले भावी व्यवसायिक नेतृत्व विकास, उद्यमशील सोचको विस्तार, नवप्रवर्तन प्रवर्द्धन तथा स्टार्टअप इकोसिस्टम सुदृढीकरणमा महत्वपूर्ण भूमिका खेलिरहेको भन्दै महासंघले युवा उद्यमशीलता प्रवर्द्धन, नवप्रवर्तन, वित्तीय पहुँच, मार्गदर्शन तथा व्यवसायिक सञ्जाल विस्तारका क्षेत्रमा एनवाईईएफसँगको सहकार्यलाई अझ सुदृढ बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरे।
साधारण सभामा उद्यमशीलता विकास, स्टार्टअप प्रवर्द्धन, नवप्रवर्तन, नेतृत्व विकास तथा निजी क्षेत्र र नीति निर्माताबीचको सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा समेत छलफल भएको थियो।
साधारण सभाबाट अनुभव श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ। कार्यसमितिमा अप्पा शेर्पा निवर्तमान अध्यक्ष, सन्दीप शर्मा प्रथम उपाध्यक्ष, सौरभ श्रेष्ठ द्वितीय उपाध्यक्ष तथा सायन प्रजापति, सन्तोष पाण्डे, आश्लेषा कार्की, छेची शेर्पा, सुरक्षा अधिकारी, इच्छा मल्ल, अमृताञ्जली शाक्य, निखिल अग्रवाल, श्रेया गिरी, श्यारोन अधिकारी र प्रियान्शी जालान सदस्यमा निर्वाचित भएका छन्।
नवनिर्वाचित कार्यसमितिले आगामी कार्यकालमा युवा उद्यमशीलता प्रवर्द्धन, नवप्रवर्तनको विकास, जिम्मेवार व्यवसायिक नेतृत्वको विस्तार तथा नेपालभरका युवा उद्यमीका लागि थप अवसर सिर्जना गर्न सक्रिय रूपमा काम गर्ने जनाएको छ। अध्यक्ष अनुभव श्रेष्ठको नेतृत्वमा एनवाईईएफ काठमाडौंले युवा उद्यमीहरूको अग्रणी मञ्चका रूपमा आफ्नो भूमिका अझ सुदृढ गर्दै उद्यमशीलता प्रवर्द्धन तथा नेपालको आर्थिक र सामाजिक रूपान्तरणमा अर्थपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरिएको छ।