काठमाडौं । नेपलिज योङ इन्टरप्रेन्योर्स फोरम ९एनवाईईएफ० ललितपुर च्याप्टरको वार्षिक साधारणसभाले अनुकुल श्रेष्ठको अध्यक्षमा नयाँ नेतृत्व चयन गरेको छ ।
नवनिर्वाचित अध्यक्ष श्रेष्ठले पदभार ग्रहण गर्दै नेपालमा युवा उद्यमशीलताको वातावरणलाई थप सुदृढ बनाउन आफू प्रतिबद्ध रहेको बताए। उनले युवा उद्यमीलाई सशक्त बनाउने, नवप्रवर्तन (इनोभेसन) प्रवर्द्धन गर्ने, दिगो व्यवसायिक अभ्यासलाई प्रोत्साहन गर्ने तथा भावी पुस्ताका व्यवसायिक नेतृत्वलाई अवसर सिर्जना गर्ने दिशामा एनवाईईएफ ललितपुरले सक्रिय भूमिका खेल्ने बताए।
उनले एनवाईईएफलाई सहकार्य, नेतृत्व विकास र उद्यमशीलतामार्फत आर्थिक वृद्धिलाई गति दिने सशक्त मञ्चका रूपमा अझ प्रभावकारी बनाइने उल्लेख गरे।
साधारणसभाका प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य महासंघ ९एफएनसीसीआई० का अध्यक्ष अञ्जन श्रेष्ठले नवनिर्वाचित अध्यक्ष तथा कार्यसमितिलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरे।
उनले नेपालको आर्थिक भविष्य निर्माणमा युवा उद्यमीहरूको भूमिका अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गर्दै नवप्रवर्तन, उद्यमशीलता र युवा नेतृत्व नै दीर्घकालीन आर्थिक रूपान्तरणका प्रमुख आधार हुने बताए।

अध्यक्ष श्रेष्ठले स्टार्टअप इकोसिस्टम सुदृढ गर्न वित्तीय पहुँच, मेन्टरशिप, व्यवसायिक नेटवर्क विस्तार, नीतिगत पैरवी तथा उद्यमशीलता क्षमता अभिवृद्धिका क्षेत्रमा एफएनसीसीआईले एनवाईईएफसँग सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता पनि व्यक्त गरे।
कार्यक्रममा परराष्ट्रमन्त्री शिशिर खनालले भिडियो सन्देशमार्फत नवनिर्वाचित नेतृत्वलाई बधाई दिँदै नेपालको सबैभन्दा ठूलो जनसांख्यिकीय शक्ति युवा जनसंख्या भएको उल्लेख गरे। उनले यस शक्तिलाई उद्यमशीलता, नवप्रवर्तन र रोजगारी सिर्जनामा रूपान्तरण गर्नुपर्ने आवश्यकता औंल्याए।
आफ्नो उद्यमशील यात्राको अनुभव साझा गर्दै मन्त्री खनालले युवा उद्यमीहरूले भोग्ने चुनौतीप्रति सरकार जानकार रहेको बताए। स्टार्टअप तथा युवाले नेतृत्व गरेका व्यवसायलाई सक्षम नीतिगत व्यवस्था, लगानी प्रवर्द्धन, अवसरको पहुँच विस्तार तथा उद्यमशीलता अनुकूल वातावरण निर्माणमार्फत सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।
उनले एनवाईईएफजस्ता संस्थाले नेपालको उद्यमशील सम्भावनालाई अन्तर्राष्ट्रिय स्तरमा उजागर गर्ने, युवा नवप्रवर्तकलाई प्रेरित गर्ने तथा विकासका अवसरसँग जोड्ने महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताए। साथै विदेशी लगानी, प्रविधि हस्तान्तरण तथा सार्वजनिक–निजी क्षेत्रबीचको सहकार्य विस्तार गरी आर्थिक विकासलाई तीव्रता दिन सरकार प्रतिबद्ध रहेको पनि उनले उल्लेख गरे।
साधारणसभामा उद्यमशीलता विकास, नवप्रवर्तन, स्टार्टअप प्रवर्द्धन, युवा नेतृत्व विकास तथा सरकार र निजी क्षेत्रबीचको सहकार्यलाई अझ प्रभावकारी बनाउने विषयमा समेत छलफल भएको थियो।
नवनिर्वाचित कार्यसमितिमा अध्यक्ष अनुकुल श्रेष्ठका साथै
प्रथम उपाध्यक्षमा प्रकिरण श्रेष्ठ, द्वितीय उपाध्यक्ष आशिष भण्डारी रहेका छन् भने कार्यसमिति सदस्यमा आशंक एसजेबी राणा, रितेज श्रेष्ठ, अभिषेक शार्दा, श्रद्धा कटुवाल, कुशल जोशी, अनिशा रौनियार, निरज काफ्ले, अस्मी श्रेष्ठ, निकिता श्रेष्ठ, अभिनव राज श्रेष्ठ र क्षितिज ध्वज थापा चयन भए।