काठमाडौं । भेनेजुएलाको गएका दुई शक्तिशाली भूकम्पले भत्काएका भवनको भग्नावशेषबाट ३२ घण्टापछि एक नवजात शिशुलाई सकुशल उद्धार गरिएको छ ।
सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोमा उद्धारकर्ताहरूले भत्किएको भवनमाथि ‘फ्लडलाइट’ को उज्यालोमा काम गर्दै शिशुलाई बाहिर निकालेको छ । शुक्रबार राति उद्धारकर्मी शिशुको उद्धार गर्न सफल भए ।
शिशु १८ दिनको रहेको बताइएको छ । ३२ घण्टासम्म भग्नावशेषमा फसे पनि उसलाई कुनै चोट लागेको छैन। शिशुको आमालाई बच्चा उद्धार भएको एक घण्टापछि उद्धार गरिएको थियो ।
स्वास्थ्यकर्मीका अनुसार आमाले आफ्नो शरीर वा अर्को कुनै वस्तुले बच्चालाई ढाकेर जोगाएको अनुमान गरिएको छ ।
बुधबार आएको ७।२ र ७।५ म्याग्निच्युडका दुई भूकम्पबाट कम्तीमा ९२० जनाको मृत्यु भएको छ भने हजारौँ घाइते भएका छन् वा बेपत्ता छन्।