काठमाडौं । आकर्षक वैदेशिक रोजगारीको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
नेपाल प्रहरीका अनुसार बाराका गगनबहादुर स्याङ्तान, सर्लाहीका निर्जल बस्नेत र दाङका बलबहादुर चन्द ठकुरीलाई पक्राउ गरेको छ । पक्राउ परेकामध्ये गगन बहादुरले माल्दिभ्स पठाइदिन्छु भन्दै चार जनाबाट रु चार लाख ३० हजार, निर्जलले मलेसिया पठाइदिन्छु भन्दै एकजनाबाट रु तीन लाख ९० हजार र बल बहादुरले क्रोएसिया पठाइदिन्छु भन्दै एक जनाबाट रु एक लाख लिई सम्पर्कविहीन भएको पाइएको छ ।
पीडितको उजुरीका आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले काठमाडौँ र ललितपुरबाट उनीहरूलाई पक्राउ गरेको हो । पक्राउमध्ये गगन बहादुरलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको छ भने निर्जल र बल बहादुरलाई वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको छ ।