काठमाडौं । फर्निचर ब्रान्ड सोफा हबले देशभरका सिर्जनशील व्यक्तिहरूका लागि ‘सोफा हब काठमाडौँ कन्टेन्ट क्रिएटर अवार्ड – भिडियो प्रतियोगिता २०८३’ को घोषणा गरेको छ।
कन्टेन्ट क्रिएटर, भ्लगर, इन्फ्लुएन्सर तथा भिडियो मेकरहरूलाई लक्षित गर्दै प्रतियोगिता आयोजना गरिएको सोफा अबका प्रबन्ध निर्देशक तारालाल धरेलले बताए ।
यस प्रतियोगितामा सहभागी हुन इच्छुक व्यक्तिहरूले सोफा हबका विभिन्न उत्पादन, शोरुम, ग्राहकको अनुभव वा ब्रान्ड कथालाई समेटेर आफ्नो मौलिक शैलीमा भिडियो निर्माण गर्नुपर्नेछ । सहभागीहरूले कमेडी, भाइन्स, प्रवर्द्धनात्मक भिडियो, प्रोडक्ट रिभ्यु, शोरुम टुर वा इन्टेरियर डिजाइनसँग सम्बन्धित विषयमा न्यूनतम ३० सेकेन्डदेखि अधिकतम ३ मिनेटसम्मको भिडियो बनाउन सक्नेछन्। भिडियोमा सोफा हबको ब्रान्ड, सेवा वा अफरसँग प्रत्यक्ष सम्बन्ध हुनुपर्ने प्रावधान राखिएको छ।
सहभागीहरूले भिडियो बनाउँदा सोफा हबका काठमाडौँ ९गोठाटार र वसुन्धरा०, विर्तामोड, चितवन, हेटौँडा, बुटवल, नेपालगन्ज, पोखरा, धनगढी र महेन्द्रनगरमध्ये कुनै एक आधिकारिक शाखालाई अनिवार्य रूपमा उल्लेख गर्नुपर्ने उनले बताए । तयार पारिएको भिडियोलाई फेसबुक, इन्स्टाग्राम, युट्युब र टिकटक गरी चारवटै सामाजिक सञ्जालमा ‘पब्लिक मोड’ मा अपलोड गर्नुपर्ने उनले बताए ।
यस प्रतियोगिताको निर्णायक मण्डलमा चर्चित हास्य कलाकार सन्दीप क्षेत्री र निर्देशक सम्राट अधिकारी रहेका छन् । विजेताहरूको छनोट ३० प्रतिशत सिर्जनशीलता, ३० प्रतिशत दर्शकको संलग्नता ९भ्युज, लाइक, सेयर०, ३० प्रतिशत ब्रान्ड प्रस्तुति र १० प्रतिशत भिडियोको गुणस्तरका आधारमा गरिने धरेलले बताए।

पुरस्कारको राशिमा प्रथम हुनेले नगद १ लाख रुपैयाँ प्राप्त गर्नेछन् भने द्वितीय हुनेले ५० हजार र तृतीय हुनेले २५ हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन्।
भिडियो पठाउने अवधि असार ३० गतेसम्म रहेको छ । विजेताको घोषणा साउन १ गते हुनेछ ।