काठमाडौँ । नेपाल आयल निगमले देशभरका ग्यास उद्योगी तथा विक्रेतालाई घरायसी प्रयोजनका लागि प्रयोग गर्ने उपभोक्तालाई उच्च प्राथमिकतामा राखेर एलपी ग्यास बिक्री वितरण गर्न आग्रह गरेको छ ।
निगमले हालको आपूर्ति व्यवस्थालाई व्यवस्थित बनाउन र आम उपभोक्ताले सहज रूपमा ग्यास प्राप्त गर्न सकून् भनी विभिन्न निर्देशिका जारी गरेको हो ।
निगमले फागुन २९ देखि लागू हुने व्यवस्था अनुसार सबै ग्यास उद्योगहरूले सिलिण्डरमा ७.१ के.जि. एलपी ग्यास आधा मूल्य ९५५ मा बिक्रि गर्नुपर्ने र यसअन्तर्गत उद्योगहरूले आफ्नो विक्रेताहरुलाई दिनहु बिहान १० बजेभित्र बिक्रीको परिमाण, ठेगाना र सम्पर्क नम्बरसहित निगमलाई जानकारी गराउनुपर्ने व्यवस्था मिलाइएको जनाएको छ ।
त्यस्तै, सम्बन्धित विक्रेताले उपभोक्तालाई बिक्री गरेको नाम, सम्पर्क नम्बर र परिमाणको रेकर्ड राखेर दैनिक आधारमा निगमलाई जानकारी गराउन निगमले निर्देशन दिएको छ । निगमले घरायसी प्रयोजनका उपभोक्तालाई उच्च प्राथमिकतामा राखेर एलपी ग्यास वितरण गर्न निर्देशन दिए पनि, आवश्यकता भन्दा बढी ग्यास खरिद नगर्न र अनावश्यक भण्डारण नगर्न सर्वसाधारणलाई अनुरोध गरेको छ ।
हाल मध्यपूर्व क्षेत्रमा जारी युद्धका कारण पेट्रोलियम पदार्थ तथा एलपी ग्यासको आपूर्तिमा विश्वव्यापी असर परेको भए पनि, निगमले नियमित रुपमा ग्यास आपूर्ति तथा विक्री वितरणको व्यवस्था निरन्तरता दिंदै आएको उल्लेख गरेको छ ।


FACEBOOK COMMENTS