काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको पक्राउ गैरकानुनी रहेको बताउँदै दायर भएको बन्दीप्रत्यक्षीकरण रिटमा बहस सकिएको छ ।
एमाले अध्यक्षसमेत रहेका ओलीको सुनुवाइ सर्वोच्चका न्यायाधीश मेघराज पोखरेलको इजलासमा र कांग्रेस नेता लेखकको सुनुवाइ न्यायाधीश कुमार रेग्मीको एकल इजलासमा भएको थियो ।
‘‘दुवैको रिटमाथि बहस सकिएको छ । आदेश आउने चरणमा छ,” ओलीलाई थुनामुक्त गर्न बहस गरेका वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले भने ।
ओलीको हकमा उनकी पत्नी राधिका शाक्य र लेखकको हकमा उनकी पत्नी यशोदा लेखकले आइतबार भिन्नाभिन्नै बन्दीप्रत्यक्षीकरण रिट निवेदन दिएका थिए ।
गत भदौ २३ र २४ गते भएको घटनामा भएको जाँचबुझ प्रतिवेदनका आधारमा ओली र लेखक चैत १४ गते भक्तपुरस्थित निवासबाट अनुसन्धानका लागि पक्राउ परेका थिए ।

दुवैजनालाई जिल्ला अदालत, काठमाडौंले पाँच दिन हिरासतमा राख्न आइतबार अनुमति दिएको छ । बन्दीप्रत्यक्षीकरण रिटमा २४ घण्टाभित्र इजलासमा उपस्थित गराएर थुनामुक्त गर्न माग छ ।

FACEBOOK COMMENTS