काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीको पिता मोहनप्रसाद ओलीको निधनप्रति नेपाली कांग्रेस र नेपाली कम्युनिस्ट पार्टीका शीर्ष नेताहरूले दु:ख व्यक्त गरेका छन् ।
ओलीका पिता मोहनप्रसादको ९७ वर्षको उमेरमा आज बिहान निधन भएको थियो। ओलीका पिता मोहनप्रसादको निधनप्रति नेपाली कांग्रेसका सभापति गगन थापा, पूर्वसभापति शेरबहादुर देउवा, नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, सहसंयोजक माधव नेपालसहित शीर्ष नेताहरूले दुख व्यक्त गरेका छन् ।
कांग्रेस सभापति थापाले दु:ख व्यक्त गर्दै भनेका छन्, ‘दिवंगत पुण्य आत्माको मोक्ष प्राप्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु। साथै, यस कठिन घडीमा शोकाकुल परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछु ।’
देउवाले पनि ओलीका पिता मोहनप्रसादको निधनको खबरले दुखी बनाएको भन्दै आत्माको चिर शान्तिको कामना गर्दै शोकाकुल सम्पूर्ण परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन्।
पिताको निधन भएलगत्तै ओली भेट्न पुगेका नेकपाका संयोजक प्रचण्डले भनेका छन्, ‘बुवाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै केपी जी लगायत शोकाकुल परिवार तथा आफन्तजनमा गहिरो समवेदना प्रकट गर्दछु।’

यस्तै, नेकपाका सहसंयोजक नेपालले पनि शोकको घडीमा दिवंगत मोहनप्रसाद ओलीज्यूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै पितृ वियोगमा परेका केपी ओलीसहित सम्पूर्ण परिवारजनमा गहिरो समवेदना प्रकट गरेका छन् ।

ओलीका बुबाको शव अस्पतालबाट निकालियो, आजै अन्तिम संस्कार गरिने (फोटो फिचर)

FACEBOOK COMMENTS