काठमाडौँ । अमेरिका–इसराइलको संयुक्त आक्रमणमा इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनीको मृत्यु भएपछि पाकिस्तानभर भएका प्रदर्शन हिंसात्मक बनेका छन् । विभिन्न सहरमा भएको झडपमा कम्तीमा २३ जनाको ज्यान गएको छ भने दर्जनौँ घाइते भएका छन् ।
प्राप्त विवरण अनुसार कराँचीमा अमेरिकी वाणिज्य दूतावास बाहिर भएको प्रदर्शनमा १० जनाको मृत्यु भएको छ । गिलगित–बाल्टिस्तानको स्कार्दुमा ११ जना र इस्लामाबादमा २ जनाको ज्यान गएको जनाइएको छ ।
कराँचीमा प्रदर्शनकारीले दूतावासतर्फ जाने सबै सडक बन्द गराएका थिए । सुल्तानाबाद पुलमुनिको ट्राफिक प्रहरी चौकीमा आगजनी गरिएको थियो । प्रहरी प्रधान कार्यालय नजिकै प्रदर्शन तितरबितर गर्न सुरक्षाकर्मीले अश्रुग्यास प्रहार गरेका थिए । सिभिल अस्पतालका अनुसार मृत्यु र घाइते सबैलाई गोली लागेको थियो ।
सिन्ध प्रदेश सरकारले प्रदर्शनकारीले दूतावासको बाहिरी सुरक्षा घेरा तोडेर तोडफोड गरेको जनाएको छ । घटनाको छानबिन गर्न उच्चस्तरीय संयुक्त अनुसन्धान समिति गठन गरिएको छ । सिन्धका मुख्यमन्त्री मुराद अली शाहले घटनाप्रति दु:ख व्यक्त गर्दै निष्पक्ष छानबिन गर्न निर्देशन दिएका छन् । उनले धार्मिक अगुवासँग पनि सम्पर्क गरी जनभावना संयमित राख्न आग्रह गरेका छन् ।
लाहोरमा पनि सयौँ प्रदर्शनकारी सडकमा उत्रिएका थिए । त्यहाँ सुरक्षाकर्मी र प्रदर्शनकारीबीच सामान्य झडप भएको र अश्रुग्यास प्रहार गरिएको बताइएको छ ।

राजधानी इस्लामाबादमा कूटनीतिक क्षेत्रतर्फ जाने सबै सडक बन्द गरिएको थियो । हजारौँ प्रदर्शनकारी अघि बढ्न खोजेपछि सुरक्षाकर्मीले अश्रुग्यास र गोली चलाउँदा २ जनाको मृत्यु र करिब १० जना घाइते भएको अधिकारीहरूले बताएका छन् ।

गृहमन्त्री मोहसिन नकवीले प्रदर्शन शान्तिपूर्ण राख्न आग्रह गरेका छन् । प्रमुख धार्मिक अगुवाहरूले पनि धैर्य र संयम अपनाउन अपिल गरेका छन् । उनीहरूले सरकारी भवन, राष्ट्रिय संस्था वा सार्वजनिक सम्पत्तिमा क्षति पुर्याउनु उचित नहुने बताएका छन् ।

हाल पाकिस्तानका विभिन्न सहरमा कालो झण्डा बोकेर प्रदर्शन जारी रहेको छ । अवस्था तनावपूर्ण रहे पनि सरकारले शान्ति कायम राख्न सबै पक्षसँग सहयोगको अपिल गरेको छ ।

FACEBOOK COMMENTS