ढाका । बङ्गलादेशको राजधानी ढाकामा आरक्षण विरोधी प्रदर्शनमा केही विपक्षी दलका नेतासहित ५ सय जनाभन्दा बढीलाई पक्राउ गरिएको प्रहरीले सोमबार पुष्टि गरेको छ ।
प्रदर्शनमा कम्तीमा ५ सय ३२ जनालाई पक्राउ गरिएको ढाका मेट्रोपोलिटन प्रहरी प्रवक्ता फारुक हुसेनले बताए । पक्राउ परेकामध्ये केही बङ्गलादेश नेशनल पार्टी (बीएनपी) नेताहरू रहेको उनले जनाएका छन् ।
पक्राउ पर्नेमा बिएनपीका नेता अमिर खुसरो, महमुद चौधरी र प्रवक्ता रुहुल कबिर रिजवी अहमदसहित पूर्व राष्ट्रिय फुटबल कप्तान तथा नेता अमिनुल हकलाई पनि पक्राउ गरिएको उनले बताए ।
इस्लामवादी पार्टी जमात–ए–इस्लामीकी महासचिव मिया गुलाम परवरलाई पनि पक्राउ गरिएको हुसेनले जानकारी दिए । उनले राजधानीमा अशान्तिका क्रममा कम्तीमा तीन जना प्रहरीले ज्यान गुमाएको बताउँदै करिब एक हजार घाइते भएको र घाइतेमध्ये ६० जनाको अवस्था गम्भीर रहेको उल्लेख गरेका छन् ।
बिएनपीका प्रवक्ता एके वाहिदुज्जमानले राष्ट्रव्यापी रूपमा ‘विगत केही दिनमा सयौं बिपिएनका नेता तथा कार्यकर्तालाई गिरफ्तार गरिएको बताएका छन् ।
FACEBOOK COMMENTS