काठमाडौं । आगामी सातादेखि नेपालका धेरै क्षेत्रमा वर्षा हुन सक्ने मौसमविद्ले बताएका छन्। बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको प्रभावले आगामी मंगलबारदेखि एक साताभन्दा लामो समयसम्म वर्षा हुन सक्ने सम्भावना देखिएको हो।
मौसमविद् डा. विनोद पोखरेलका अनुसार विभिन्न मौसम पूर्वानुमान मोडेलले देशका विभिन्न स्थानमा वर्षा हुने संकेत देखाएका छन्। केही क्षेत्रमा भारी वर्षा र असिनासमेत पर्न सक्ने अनुमान गरिएको छ।
उनले चारवटा मौसम पूर्वानुमान मोडेलको औसत नतिजा सार्वजनिक गर्दै वर्षाको सम्भावनाबारे जानकारी दिएका हुन्। यद्यपि, विभिन्न मोडेलले वर्षा हुने स्थान र त्यसको मात्राबारे फरक–फरक अनुमान गरेकाले अहिले नै कुन क्षेत्रमा कति वर्षा हुन्छ भन्ने यकिन गर्न कठिन रहेको उनले बताएका छन्।
सम्भावित वर्षालाई ध्यानमा राख्दै मौसमविद् पोखरेलले धान काट्ने तयारीमा रहेका किसानलाई मौसमको पूर्वानुमान हेरेर काम गर्न सुझाव दिएका छन्। आगामी मंगलबारदेखि वर्षा हुने सम्भावना रहेकाले त्यसअघि नै धान काटेर सुरक्षित रूपमा भित्र्याउन सकिने किसानले समयमै तयारी गर्नुपर्ने उनको भनाइ छ।
धान काट्न बाँकी रहेका किसानले वर्षाको सम्भावना र मौसमको पछिल्लो अवस्थालाई ध्यानमा राखेर उपयुक्त समय निर्धारण गर्नुपर्ने देखिएको छ। असिनासहित वर्षा भएमा धानबालीमा क्षति पुग्न सक्ने भएकाले थप सावधानी अपनाउन आवश्यक छ।

त्यस्तै, हिमाली क्षेत्रमा मौसम प्रतिकूल हुँदा यात्रा तथा पदयात्रामा जोखिम बढ्न सक्ने भएकाले घुमफिरको योजना बनाएकाहरूलाई पनि सतर्क रहन आग्रह गरिएको छ। यात्रामा निस्कनुअघि मौसमको पछिल्लो पूर्वानुमान र आधिकारिक सूचनाको जानकारी लिन सुझाव दिइएको छ।

मौसमको अवस्था परिवर्तन हुन सक्ने भएकाले किसान, यात्रु तथा सर्वसाधारणले नियमित रूपमा मौसमसम्बन्धी अद्यावधिक सूचना हेर्न आवश्यक छ।
