काठमाडौं । ललितपुरस्थित पाटन दरबार सङ्ग्रहालयको ऐतिहासिक मूलचोकमा ठेचोको प्रसिद्ध नवदुर्गा नाच प्रदर्शन गरिएको छ। विजयादशमी र कोजाग्रत पूर्णिमाका दिन मङ्गलबजारमा नवदुर्गा नाच देखाउने परम्पराअनुसार बुधबार नाच प्रस्तुत गरिएको हो।
ठेचोस्थित देवताघरबाट मुख्य देवता, मुकुन्डो, पोसाक तथा गरगहना बोकेर आएका देवगणले परम्परागत विधिअनुसार नाच प्रदर्शन गरेका थिए। नेवार समुदायको प्राचीन सांस्कृतिक परम्परासँग जोडिएको यो नाच देवीपूजा, धार्मिक आस्था र सामुदायिक एकताको प्रतीक मानिन्छ।
मानमानेश्वरी देवीको निमन्त्रणामा ठेचोबाट नवदुर्गालाई मङ्गलबजार ल्याउने र देवीलाई फूल चढाउनुका साथै उपहार दिने परम्परा रहेको छ। लिच्छवीकालीन संस्कृतिसँग जोडिएको यस नाचले पाटनको ऐतिहासिक तथा सांस्कृतिक सम्पदाको संरक्षणमा महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ।