काठमाडौं । अब नेपालमा क्यान्सर उपचारमा प्रयोग हुने दुर्लभ र अत्यावश्यक औषधि निःशुल्क उपलब्ध हुने भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले शुक्रबार जानकारी दिँदै क्यान्सर बिरामीहरूका लागि विदेशिनुपर्ने बाध्यता कम गर्न ३७ प्रकारका महँगा औषधि नेपालमै निःशुल्क उपलब्ध गराउने व्यवस्था भएको बताए।
मन्त्री पौडेलको विशेष पहलमा अन्तर्राष्ट्रिय च्यारिटी संस्था डाइरेक्ट रिलिफले वन हर्ट वर्ल्डवाइडमार्फत पाँच वर्षसम्म नेपाललाई ती औषधिहरू सहयोग गर्ने प्रतिबद्धता जनाएको हो ।
स्वास्थ्य मन्त्रालयमा आयोजित हस्तान्तरण कार्यक्रममा मन्त्री पौडेलले भने, ‘क्यान्सरको औषधि महँगो हुँदा धेरै विपन्न नागरिक विदेश जान बाध्य हुनुपर्थ्यो। राज्यको लगानी बिना नै धेरै नागरिकलाई राहत दिने प्रयास गरेका छौं ।’
उनका अनुसार क्यान्सर उपचारका लागि आवश्यक स्तन क्यान्सर, छाला क्यान्सर, प्लाक सोरियासिस, अल्जाइमर लगायतका रोगमा प्रयोग हुने औषधिहरू क्रमिक रूपमा नेपाल भित्रिने छन् ।
आवश्यक परे थप औषधि सूचीमा समेट्ने तयारीसमेत भइरहेको उनले बताए ।
डाइरेक्ट रिलिफको यो सहयोग बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर, भक्तपुर क्यान्सर अस्पताल, शुशिल कोइराला प्रखर क्यान्सर अस्पताल बाँके र वीर अस्पताल काठमाडौंमा निःशुल्क उपलब्ध हुने छ। मन्त्री पौडेलका अनुसार सरकारी अस्पतालमार्फत बिरामीहरूले औषधि सजिलै पाउने छन् .
मन्त्रालयको समन्वय महाशाखा प्रमुख डा. भीम सापकोटाले पाँच वर्षसम्म देशको आवश्यकता अनुसार औषधि आपूर्ति हुने गरी सम्झौता भएको जानकारी दिए। वन हर्ट वर्ल्डवाइडका नेपाल प्रतिनिधि सूर्य भट्टले मन्त्री पौडेलको सक्रिय पहलले नै यो सहयोग सम्भव भएको भन्दै यसलाई नेपालका लागि ठूलो उपलब्धि बताएका छन्।
मन्त्री पौडेलले सरकारका अन्य स्वास्थ्य सेवा र बीमा योजनाबारे जानकारी नभएर नागरिकले लाभ लिन नसकिरहेको भन्दै सञ्चारमाध्यमहरूलाई स्वास्थ्य सम्बन्धी जानकारी प्रसारमा प्राथमिकता दिन आग्रह गरे।
FACEBOOK COMMENTS