काठमाडौं । स्तन क्यान्सरसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजना हुन लागेको ‘पिंकवाक २०२६’ का लागि दर्ता खुला गरिएको छ।
आयोजकका अनुसार असोज १७ गते शनिबार बिहान ६ बजे काठमाडौंको बसन्तपुरस्थित काठमाडौं दरबार स्क्वायरबाट पदयात्रा सुरु हुनेछ। पदयात्रा ललितपुरको मंगलबजारस्थित पाटन दरबार स्क्वायरमा पुगेर सम्पन्न हुनेछ।
पिंकवाकमा सहभागी हुन इच्छुक व्यक्ति, संघसंस्था तथा समुदायका सदस्यले अनलाइनमार्फत दर्ता गर्न सक्नेछन्। सहभागीले दर्ता पृष्ठमा गई उपलब्ध क्यूआर कोड स्क्यान गरेर आवश्यक विवरण भरी दर्ता गर्न सक्ने आयोजकले जनाएको छ।
त्यसैगरी, इसेवा एप मार्फत पनि दर्ता गर्न सकिनेछ। यसका लागि इसेवा एप खोली ‘भोटिङ एन्ड इभेन्ट्स’ मा गएर ‘पिंक वाक’ छनोट गर्नुपर्नेछ।
स्तन क्यान्सरको प्रारम्भिक पहिचान, नियमित स्वास्थ्य परीक्षण तथा समयमै उपचारको महत्वबारे जनचेतना फैलाउने उद्देश्यले पिंकवाक आयोजना गर्न लागिएको हो। क्यान्सरबाट प्रभावित व्यक्ति तथा परिवारप्रति ऐक्यबद्धता जनाउने उद्देश्यसमेत अभियानले राखेको छ।

पिंकवाकमा स्वास्थ्यकर्मी, क्यान्सरबाट निको भएका व्यक्ति, प्रभावित परिवार, विभिन्न संघसंस्थाका प्रतिनिधि, सञ्चारकर्मी तथा सर्वसाधारणको सहभागिता रहने अपेक्षा गरिएको छ।

इन्फिनिट केयर्सले क्यान्सर केयर नेपालसँगको सहकार्यमा पिंकवाक २०२६ आयोजना गर्न लागेको हो। कार्यक्रममा काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका तथा नेपाल क्यान्सर सर्भाइभर्स सोसाइटीलगायत संस्थाको सहयोग रहेको छ।

कार्यक्रममा नेसनल क्यान्सर अस्पताल, म्याक्स फाउन्डेसन, नोभाला बायोटेक, सेन्टर फर अमेरिकन मेडिकल स्पेसलिस्ट्स, ले मोनाल, स्नो ड्रप्स, नेट टिभी, उनो, ह्याप्पी माइन्ड्स, वल्र्ड अफ विमेन, जीभी, बस्र्ट निम्बू फिज्ज, हिमालयन जाभा, स्मृतिपत्र, झिगु नेवा: बाजं खल:, पठाओ, क्यूएफएक्स, इसेवा, बज्र नास: खल:, ताल नृत्य भूमि, आईएसएस, वानपसल, क्रेयन्स् कर्प तथा काठमाडौं पोस्टलगायत विभिन्न संस्था तथा व्यवसायको साझेदारी रहेको जनाइएको छ।
आयोजकले स्तन क्यान्सरविरुद्धको जनचेतना अभियानमा ऐक्यबद्धता जनाउँदै पिंकवाक २०२६ मा सहभागी हुन सर्वसाधारणलाई आग्रह गरेको छ।