काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले ‘जेनजी’ प्रदर्शनका क्रममा दुवै आँखा गुमाएका सुर्खेत वीरेन्द्रनगर-२ भुरेलीका सन्तोष बोहरालाई भेटेर जानकारी लिएकी छिन् ।
आज त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पुगेर उनले बोहराको स्वास्थ्य अवस्थाबारे जानकारी लिइन् ।
प्रधानमन्त्री कार्कीले उपचारको प्रगतिबारे चिकित्सकसँग जानकारी लिनुका साथै बोहरा परिवारसँग भेट गरी आवश्यक सहयोगका विषयमा छलफल गरेको उनको सचिवालयले जनाएको छ । गत भदौ २४ गते सुर्खेतमा भएको घटनामा गोली लागेर बोहराले दुवै आँखा गुमाएका थिए ।
प्रधानमन्त्री कार्कीसँग घाइतेका बुवा चन्द्रबहादुर बोहोराले घटनाका दोषीमाथि कडा कारबाही गर्न माग गरे । उनले छोरा एवं आश्रित परिवारको भविष्य अनिश्चित भएको भन्दै श्रीमती, चार वर्षीया छोरी तथा बुबाआमाको जीविकोपार्जनमा ठूलो कठिनाइ हुनेभन्दै ध्यानाकर्षण गराए ।
परिवारसँगको छलफलमा प्रधानमन्त्री कार्कीले सरकारले उपचार तथा आवश्यक सहयोग गर्ने आश्वासन दिइन् । उनले भनिन्, तपाईँलाई धेरै दुःख परेको छ भन्ने म बुझ्छु । हामी पनि आमाबाबु हौँ । उपचारका लागि सम्भव जति सबै उपाय प्रयोग गर्छौं । बच्चाको पढाइ र श्रीमतीको रोजगारीका विषयमा पनि पहल गर्छौँ ।’

FACEBOOK COMMENTS