काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आजदेखि सुरू हुन लागेको दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) एक फ्रेन्चाइज क्रिकेट प्रतिस्पर्धा मात्रै नभई सम्पूर्ण नेपालीलाई एकताको सूत्रमा बाँध्ने चाड र राष्ट्रिय गौरव रहेको बताएकी छन् ।
सामाजिक सञ्जालमार्फत प्रतियोगिताको सफलताका लागि शुभमकामना व्यक्त गर्दै उनले परिष्कृत टीयू क्रिकेट रङ्गशालामा खेलाडीहरूको जमघटले मुलुकमा नयाँ उत्साहको सञ्चार गर्ने विश्वास व्यक्त गरेकी छन् ।
‘बहुप्रतीक्षित उत्सव नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण आज सुरू हुँदै छ । यो केवल एक फ्रेन्चाइज क्रिकेट प्रतिस्पर्धा मात्रै रहेन, सम्पूर्ण नेपालीलाई एकताको सूत्रमा बाँध्ने चाड हो; राष्ट्रिय गौरव हो,’ प्रधानमन्त्री कार्कीले लेखेकी छन्, ‘कीर्तिपुरको परिष्कृत रङ्गशालामा स्वदेशी–विदेशी तथा नयाँ–पुराना खेलाडीहरूको आकर्षक जमघटले मुलुकमा नयाँ उत्साहको सञ्चार गर्नेछ । हार्दिक शुभकामना ! जय नेपाली क्रिकेट !’
एपीएलको उद्घाटन खेलमा आज डिफेन्डिङ च्याम्पियन जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाज खेल्दैछन् । खेल नेपाली समयअनुसार दिउँसो ४ बजेदेखि सुरू हुने छ ।
यस सिजनको एनपीएलका धेरैजसो खेल नवनिर्मित टीयू क्रिकेट मैदानको फ्लडलाइटमा हुने छ ।

FACEBOOK COMMENTS