काठमाडौं । समुदाय–प्रहरी साझेदारी कार्यक्रम सञ्चालन भएको पाँच वर्ष पूरा भएको छ ।
यस अवधिमा जम्मा १०० वटा शीर्षकमा देशभर १ लाख ८४ हजार ५३५ वटा सामुदायिक कार्यक्रमहरु सञ्चालन भएका छन् । यसबाट कुल १ करोड २ लाख ९८ हजार ७ सय ४ जना नागरिकहरू प्रत्यक्ष लाभान्वित भएको प्रहरीले जनाएको छ ।
कार्यक्रमको माध्यमबाट ७५३ वटा स्थानीय तहसँग साझेदारी निर्माण गरी कार्यान्वयन गर्न औपचारिक समझदारी भएको थियो । जसअनुसार वृहत् रूपमा सामुदायिक सुरक्षा संस्थागत गर्न जिल्ला, पालिका, वडा, टोल र विद्यालय तहसम्म कुल २३ हजार ९ सय ९२ साझेदारी समितिहरू गठन भएका छन् ।
समुदाय–प्रहरी साझेदारी अवधारणा २०७५ बमोजिम सामुदायिक सुरक्षा अभिवृद्धि गर्नका लागि स्थानीय स्तरमा नेपाल प्रहरी, स्थानीय तह, सरकारी निकायहरू विद्यमान सामुदायिक प्रहरी तथा सामुदायिक सेवा केन्द्रहरू, विभिन्न क्षेत्रका गैह्र राजनीतिक सामुदायिक र सामाजिक संघ संस्थाहरू, महिला, बालबालिका र युवा सम्बन्धी संघ संस्थाहरू, माध्यमिक तह (कक्षा १२ सम्म) का विद्यालयहरू, शिक्षासँग सम्बन्धित संघ संस्थाहरू र समाजका लब्ध प्रतिष्ठित व्यक्तिहरूको सहभागिता हुने गरी जिल्ला, पालिका, वडा, टोल र विद्यालय स्तरमा समितिहरू गठन गरी बृहत् राष्ट्रिय साझेदारी निर्माण गरिएको हो ।
यस अवधारणाबारे जानकारी दिँदै नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक कुबेर कडायत भन्छन्, ‘यस अवधारणाको कार्यान्वयनबाट सामुदायिक सुरक्षा, अपराध रोकथाम, घटित अपराध अनुसन्धानमा जनसहभागिता अभिवृद्धि, प्रहरी र जनताबीचको सम्बन्ध सुदृढ हुनुका साथै अन्य प्रहरी कार्यमा समेत उल्लेखनीय योगदान पुग्न गएको छ ।’
यसैगरी, कोभिङ–१९ को समयमा करिब १० हजार ६ सय ४६ भन्दा बढी जनचेतनामूलक कार्यक्रमहरूबाट करिब १६ लाख नागरिकलाई सचेत गराइएको थियो । लागूऔषध विरुद्ध जनचेतनामूलक करिब २० हजार कार्यक्रमहरूबाट १० लाख ४३ हजार भन्दा बढी मानिसहरूमा सचेतना पुर्याइएको छ । महिला हिंसा न्यूनिकरण सम्बन्धमा करिब १३ हजार ६ सय भन्दा बढी कार्यक्रमहरूबाट करिब ६ लाख ८५ हजार भन्दा बढी नागरिक समक्ष सचेतना पुर्याइएको छ ।
समुदाय लक्षित कार्यक्रमहरूमा जबरजस्ती करणी विरुद्ध, मानववेचविखन विरुद्ध, ट्राफिक नियम तथा दुर्घटना न्यूनिकरण सम्बन्धी जनचेतना, साइबर अपराध सम्बन्धी कार्यक्रम, आत्महत्या न्यूनिकरण कार्यक्रम, बालविवाह, बहुविवाह, दाइजो प्रथा विरुद्ध जनचेतना अभिवृद्धि, विद्यालय सम्पर्क कार्यक्रम, सामाजिक अपराध न्यूनिकरण, समुदाय र प्रहरीबीच खेलकुद कार्यक्रम, आगलागी न्यूनिकरण लगायत रहेका छन् । यस्ता जनचेतनामूलक कार्यक्रमहरूले समाजमा रहेका विकृति र विसंगती विरूद्ध समाजलाई झकझकाउँदै कानूनी राज्यको स्थापना गर्न समुदाय र कानून कार्यान्वयन गर्ने निकाय नेपाल प्रहरी मिलेर जानुपर्ने धारणा प्रहरी नायव महानिरीक्षक कुबेर कडायतले व्यक्त गरे ।
२०३९ सालमा घरदैलो कार्यक्रमबाट सुरूवात भएको साझेदारी अवधारणा नेपाल प्रहरीले विभिन्न समयमा अख्तियार गरेका निर्देशिका, विधान र कार्ययोजना जस्ता सामुदायिक प्रहरी सेवा स्थापनाका आधार र निर्णयहरूबाट समुदाय–प्रहरी साझेदारी कार्यक्रम २०७५ कात्तिक ११ गतेदेखि सुरूवात भएको हो । सामुदायिक सुरक्षा अभिवृद्धि गर्ने तथा स्थानीय स्तरमा हुने सेवा प्रवाहलाई प्रभावकारी बनाउँदै नागरिक र प्रहरीबीचमा सम्बन्ध स्थापित गर्ने यस अवधारणाको उद्देश्य, आवश्यकता र औचित्य पुष्टी भएको छ । अवधारणा अन्तर्गत हाल ५ सय २८ जना जनशक्ति कार्यरत रहेका छन् भने १ सय ८५ वटा सामुदायिक प्रहरी सेवा केन्द्रहरू प्रत्यक्ष खटिएका छन् ।
FACEBOOK COMMENTS