हिरासतमा मृत्यु प्रकरण: प्रहरी उपरीक्षकदेखि जवानसम्म १० जनालाई कारबाही सिफारिस
कर्पोरट खबर
9:41 pm, मंगलबार, जेठ १२, २०८३
- सिन्धुलीको हिरासतमा श्रीकृष्ण विकको मृत्यु भएको घटनामा प्रहरी उपरीक्षकदेखि जवानसम्म १० जनालाई कारबाहीको सिफारिस गरिएको छ।
- छानबिन समितिले ग्रेड घटुवा, चेतावनी र जिम्मेवारीबाट अलग गर्ने सहित विभिन्न कारबाही सिफारिस गरेको छ।
काठमाडौ । सिन्धुलीको इलाका प्रहरी कार्यालय खुर्कोटको हिरासत कक्षमा थुनुवाको मृत्यु भएको घटनामा प्रहरी उपरीक्षकदेखि प्रहरी जवानसम्म १० जनालाई कारबाहीको सिफारिस भएको छ ।
सिन्धुलीको सुनकोशी गाउँपालिका–३ जुम्लीडाँडा बस्ने २३ वर्षीय श्रीकृष्ण विकको हिरासत कक्षमा मृत्यु भएको घटनाको छानबिन गर्न गठित प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्य नेतृत्वको छानबिन समितिले उनीलाई कारबाही सिफारिस गरेको हो ।
समितिले एक जनालाई सचेत, दुई जनालाई ध्यानाकर्षण, पाँच जनालाई चेतावनीसहित जिम्मेवारीबाट अलग, एक जनालाई नसिहत र एक जनालाई ग्रेड घटुवा गर्न सिफरिस गरेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।
समितिले हिरासतमा रहेका व्यक्तिको जीवन सुरक्षालाई उच्च प्राथमिकतामा राखी कार्य गर्न, हिरासत व्यवस्थापन कार्य निर्देशन, २०८१ को पूर्ण कार्यान्वयन र कार्य सुनिश्चितता गर्ने डिउटीका समयमा अन्य काममा सङ्लग्न नहुने तथा नियमित निगरानी सुनिश्चित गर्ने सुझाव दिएको छ ।