काठमाडौँ । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।
१- प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार एवं संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलका संयोजक असिम शाहले निजी क्षेत्रसँग छलफल गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आज कार्यदलले उद्योग, वाणिज्य एवं निजी क्षेत्रसँग सम्बन्धित व्यक्तिहरुसँग संविधान संशोधनका विषयमा सुझाव लिदै सो छलफलमा सहभागी उद्योगी तथा व्यवसायीहरूबाट प्राप्त सुझावलाई बहसपत्र तयारीका क्रममा प्राथमिकताका साथ समेटिने बताएका थिए । सो अवसरमा उनले सरकार नीजिमैत्री नीति लिई अघि बढिरहेको स्पष्ट पार्दै व्यवसायीहरूलाई निर्धक्क भएर व्यवसाय सञ्चालन गर्न आग्रह गरेका छन् ।
संयोजक शाहले सरकारले कुनै पनि व्यवसायीलाई लक्षित गरेर धरपकड नगरेको दाबी गर्दै उनले गम्भीर आपराधिक गतिविधि र राज्यलाई क्षति पुर्याउने कार्यमा संलग्नहरुमाथि मात्रै कानुनी कारबाही भइरहेको स्पष्ट पारेका थिए । छलफलमा उद्योग, वाणिज्य एवं निजी क्षेत्रका प्रतिनिधिहरु दिव्यमणी भण्डारी, अन्जन श्रेष्ठ, अरुण चौधरी, डा उपेन्द्र महतो, रवि केसी, शिवरतन शारदा, दिपक मल्होत्रा, राजेश काजी श्रेष्ठ, राजुबाबु श्रेष्ठ, सुरेशलाल श्रेष्ठ, विजय राजभण्डारी, आनन्द बगरिया, प्रदिप श्रेष्ठ, कुश कुमार जोशी, भवानी राणा, सुरज वैद्य, शशी अग्रवाल, सुरहित ज्योती, प्रकाश डोटेल, शतिस शर्मा, सुदिप आचार्य, डा राजेन्द्र केसी, योगेन्द्र शाक्य, शेरसिंह श्रेष्ठ, सुमन पाण्डे, हेमन्त गोल्छा, दिपक दहाल, शंकर घिमिरे, क्याबिनेट श्रेष्ठ, हेमराज ढकाल, संगिता श्रेष्ठ, ज्योत्सना श्रेष्ठ, विरेन्द्र राज पाण्डे र हरिभक्त शर्मा सहभागी थिए । उनीहरुले संविधान संशोधन र आर्थिक सुधारका सुझावहरु समेत प्रस्तुत गर्नुभएको थियो ।
निजी क्षेत्रले संविधान संशोधनलाई केवल राजनीतिक विषय नभई आर्थिक सुधार, लगानी सुरक्षा, कानुनी स्पष्टता, सुशासन र निजी क्षेत्रप्रतिको दृष्टिकोण परिवर्तन गर्ने अवसरका रूपमा हेरेको राय व्यक्त गरे । उनीहरुले आर्थिक स्थायित्व, लगानीमैत्री वातावरण, कानुनी स्पष्टता, सुशासन र निजी क्षेत्रप्रति सम्मानजनक दृष्टिकोण आवश्यक रहेको बताए । संविधानले निजी क्षेत्रलाई ‘मुनाफाखोरी’ दृष्टिले नभई राष्ट्र निर्माणको साझेदार र ‘इन्जिन अफ ग्रोथ’का रूपमा परिभाषित गर्नुपर्ने उनीहरुको माग थियो । यस्तै संविधानको प्रस्तावनामा ‘समाजवाद उन्मुख व्यवस्था’ भन्ने शब्द अस्पष्ट भएकाले यसलाई ‘प्रतिस्पर्धात्मक, खुला र नवप्रवर्तनमुखी बजार अर्थतन्त्र’ लेखिनुपर्ने उनीहरुको सुझाब थियो ।

यस्तै, निजी क्षेत्रलाई राज्यको प्रमुख आर्थिक साझेदारका रूपमा संवैधानिक मान्यता दिनुपर्ने साझा राय थियो । उनीहरुले कर प्रणाली र संघीय संरचना सुधारका लागि सुझाब दिनुभयो । संघ, प्रदेश र स्थानीय तहबाट दोहोरो कर तथा दोहोरो नियमन भइरहेको गुनासोबारे ध्यानार्कषण गराउदै कर प्रशासनमा स्पष्टता हुनुपर्ने माग राखेका थिए । उनीहरुले भ्याट क्लियर नभए आयकर चुक्ता नदिने जस्ता विरोधाभासी व्यवस्था हटाउनुपर्ने राय व्यक्त गरे । कानुनको फरक–फरक व्याख्या र सरकारी निकायहरूको तजबिजीका कारण व्यवसायी असुरक्षित भएको गुनासो गरेका थिए ।

उनीहरुले दश पन्ध वर्ष पुराना कर, भ्याट वा बैंकिङ मुद्दा निकालेर व्यवसायीलाई दुःख दिने प्रवृत्ति अन्त्य गर्नुपर्ने बताएका थिए । यसअघि कार्यदलले विभिन्न राजनीतिक दलबाट लिखित सुझाब लिई छलफल गरिसकेको छ । कार्यदलले विभिन्न समयमा संविधानविद, कानूनविद्, वरिष्ठ अधिवक्ता, पूर्वप्रशासक , पूर्व कुटनीतिज्ञ, सञ्चारकर्मी र राजनीतिक व्यक्तित्वहरुसँग छलफल गरी सुझाब संकल्नका लागि छलफल गरिसकेको छ । यस्तै, संविधान संशोधन बहसपत्र तयारीका लागि आम नागरिकसँग राय सुझाव माग गरिसकेको छ । विभिन्न क्षेत्रका विज्ञ तथा सरोकारवालाहरुसँग सुझाब संकल्नका लागि छलफललाई निरन्तरता दिइने कार्यदलले जनाएको छ ।

२- विपि राजमार्ग अन्तर्गत महोत्तरीको बर्दिबास-सिन्धुली सडकखण्डको अवरोध हटेको छ । जिल्ला प्रशासन कार्यालय महोत्तरीका प्रमुख जिल्ला अधिकार इन्द्रदेव यादव र डिभिजन वन कार्यालय प्रमुख अजय कुमार मिश्रले बस्ती हटाउने कुनै योजना नरहेको लिखित प्रतिबद्ध जनाएपछि आन्दोलित बनेका स्थानीयले अवरुद्ध गरेको सडक करिब १० घण्टापछि खुलेको हो । बर्दिबास नगरपालिका -३ कालापानीस्थित वन क्षेत्रमा रहेको बस्ती खाली गराउन सोमबार राती सुचना जारी गर्न पुगेको डिभिजन वन कार्यालयका कर्मचारीलाई स्थानीयले नियन्त्रणमा लिएपछि तनाव भएको थियो । स्थानीयको नियन्त्रणमा रहेका कर्मचारीलाई सुरक्षाकर्मिले उद्धार गरेपनि स्थानीयले वन कार्यालयको गाडीमा आगजनी गरेका थिए ।
३- वीरगन्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । किर्ते जन्मदर्ता, नागरिकता तथा राहदानी बनाएको आरोपमा जिल्ला अदालत पर्साले मंगलबार ३५ दिने पक्राउ पुर्जी जारी गर्दै अनुसन्धान प्रक्रिया अघि बढाउन आदेश दिएको हो । नगर प्रमुख सिंहमाथि अर्काकी छोरीलाई आफ्नै सन्तानका रूपमा देखाएर सरकारी कागजात तयार गरिएको आरोप लागेको छ । अभियोगपत्र अनुसार नगर प्रमुख सिंहले सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकाकी रिता भट्टराईलाई आफ्नी श्रीमतीका रूपमा देखाउँदै २०७१ माघ २० गते रुबिना श्रेष्ठको जन्मदर्ता गराएका थिए । सोही जन्मदर्ताका आधारमा २०७५ साउन १० गते नागरिकता बनाइएको र त्यसको १२ दिनपछि राहदानीसमेत जारी गरिएको अनुसन्धानबाट खुलेको थियो । जिल्ला सरकारी वकिल कार्यालय पर्साले गत जेठ १ गते चारवटा अलग-अलग मुद्दा दर्ता गरेको थियो । तीमध्ये दुईवटा लिखत सम्बन्धी कसुर, एउटा झुट्टा विवरण पेस गरी नागरिकता बनाएको तथा अर्को राहदानीसम्बन्धी कसुर रहेको छ ।
४- सत्ता पक्षले प्रधानमन्त्री बालेन्द्र शाहले एक साता भित्र संसदमा आएर जवाफ दिने प्रतिबद्धता गरेपछि प्रतिनिधि सभामा विपाक्षी दलहरुको अवरोध हटेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले प्रधानमन्त्रीले के साता भित्र संसदमा आएर सांसदहरुका प्रश्नको जवाफ दिने प्रतिबद्धता गरेपछि विपक्षी दलहरुले अवरोध हटाएका हुन् । यसअघि प्रतिनिधिसभाको बैठकमा विपक्षी दलहरूले विरोध जारी राखेपछि सभामुख अर्यालले प्रधानमन्त्री सदनमा आउने तयारीमा रहेको र संसद्मा उठेका विषयबारे जानकार रहेको बताएका थिए । उनले भनेका थिए-‘ ‘सरकार र प्रधानमन्त्रीसँग मेरो छलफल भइरहेको छ, प्रधानमन्त्री सदनमा आउने तयारीमा हुनुहुन्छ, सदनमा छलफल भएको विषयमा प्रधानमन्त्री जानकार हुनुहन्छ ।’
५- इलाका प्रहरी कार्यालय खुर्कोट सिन्धुलीको हिरासत कक्षमा थुनुवाको मृत्यु भएको घटनामा प्रहरी उपरीक्षक देखि प्रहरी जवान सम्म गरी १० जना प्रहरी कर्मचारीहरूलाई कारबाहीको सिफारिस गरिएको छ । हिरासत कक्षमा रहेका सिन्धुली सुनकोशी गाउँपालिका-३ जुम्लीडाँडा बस्ने २३ वर्षीय श्रीकृष्ण विकको मृत्यु भएको घटनाको छानबिन गर्न गठित प्रहरी नायव महानिरीक्षक दिनेश कुमार आचार्य नेतृत्वको छानबिन समितिले उनीहरूलाई कारबाहीको लागि सिफारिस गरेको हो ।
जसमध्ये १ जनालाई सचेत गराउने, २ जनालाई ध्यानाकर्षण गराउने, ५ जनालाई सख्त चेतावनी सहित जिम्मेवारीबाट अलग गर्ने, १ जनालाई नसिहत र १ जनालाई ग्रेड घटुवा गर्ने समितिले सिफारिस गरेको छ । साथै समितिले हिरासतमा रहेका व्यक्तिको जीवन सुरक्षालाई उच्च प्राथमिकतामा राखी कार्य गर्न, हिरासत व्यवस्थापन कार्य निर्देशन, २०८१ को पूर्ण कार्यान्वयन र कार्य सुनिश्चितता गर्ने डिउटीका समयमा अन्य काममा संलग्न नहुने तथा नियमित निगरानी सुनिश्चित गर्ने सुझाव दिएको छ । कुनै पनि असामान्य गतिविधि तुरून्तै रिपोर्ट गर्ने प्रणाली अनिवार्य रूपमा कार्यान्वयन गर्न लगाउने, विशेषत: अन्तर्जातीय सम्बन्ध, नाबालिग संलग्नता तथा सामाजिक तनाब उत्पन्न हुन सक्ने घटनाहरूमा आवश्यक तथ्य संकलन, पक्षहरू एवम् परिवारजनसँग समन्वय तथा अनुसन्धान सम्बन्धी निर्णयहरूमा कार्यलय प्रमुखको प्रत्यक्ष निगरानी र सक्रिय संलग्नता सुनिश्चितता गर्न समितिले सुभाव दिएको छ ।
यसैगरी जिल्ला प्रहरी प्रमुखलाई हिरासत व्यवस्थापन जस्तो संवेदनशील विषयमा नियमित अनुगमन, निरीक्षण तथा सुपरीवेक्षणलाई अझ प्रभावकारी बनाउँदै मुद्दा चलाउने कार्यालयलाई आवश्यक जनशक्ति व्यवस्थापन, घटना एवम् सूचना व्यवस्थापन तथा समन्वयलाई थप सुदृढ गर्न सचेत गराई प्रत्येक प्रहरी इकाइमा आवधिक निरीक्षण, हिरासत अवस्थाको नियमित मूल्याङकन तथा सुधारमुखी कार्य योजना कार्यान्वयन गर्न समेत समितिले सुझाव दिएको छ ।
६- परराष्ट्र मन्त्रालयअन्तर्गत कन्सुलर सेवा विभागले विकास गरेको मोबाइल एप ‘मोफा मित्र’ को औपचारिक शुभारम्भ गरिएको छ । त्रिपुरेश्वरस्थित कन्सुलर सेवा विभागमा आज आयोजित कार्यक्रममा परराष्ट्रमन्त्री शिशिर खनालले उक्त एपको शुभारम्भ गरेका हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री खनालले कन्सुलर सेवालाई थप सहज, नागरिकमैत्री, प्रभावकारी र प्रविधिमैत्री बनाउन डिजिटल प्रविधिको प्रयोग अत्यन्त महत्वपूर्ण रहेको बताएका छन् । उनले ‘मोफा मित्र’ एपमार्फत विदेशमा रहेका नेपाली नागरिक र नेपाली नियोगबीच सहज सम्पर्क, समन्वय तथा छिटो सूचना आदानप्रदानमा सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् । कन्सुलर सेवासम्बन्धी गुनासा तथा समस्याको प्रभावकारी समाधानमा पनि एपले महत्वपूर्ण भूमिका खेल्ने उनले बताएको छ । कार्यक्रममा स्वागत मन्तव्य राख्दै कन्सुलर सेवा विभागका महानिर्देशक दुरपदा सापकोटाले कन्सुलर सेवालाई थप सहज, सरल र प्रभावकारी बनाउने नेपाल सरकारको नीतिअनुसार विभागले आधुनिकीकरण तथा डिजिटल रूपान्तरणको काम निरन्तर अघि बढाइरहेको बताए । कार्यक्रममा ‘मोफा मित्र’ एपका विशेषता तथा सञ्चालन प्रक्रियाबारे संक्षिप्त प्रस्तुति पनि गरिएको थियो ।
एपमार्फत विदेशमा समस्यामा परेका, अलपत्र परेका वा हराएका नेपाली नागरिकको खोजतलास तथा उद्धारका लागि अनलाइन निवेदन दर्ता गर्न सकिने व्यवस्था गरिएको छ । साथै मृत्यु भएका नेपालीको शव व्यवस्थापन, बीमा तथा क्षतिपूर्ति दाबी लगायत अन्य गुनासा तथा समस्या पनि एपमार्फत दर्ता गर्न सकिने जनाइएको छ । निवेदनमाथि भएको कारबाहीको अवस्थाबारे जानकारी लिन सकिने सुविधा समेत एपमा समावेश गरिएको छ । त्यसबाहेक नेपाली नियोगहरूको सम्पर्क विवरण, नियोगले प्रदान गर्ने सेवा, यात्रा सम्बन्धी सूचना, सुरक्षा जानकारी, कन्सुलर सेवासम्बन्धी बारम्बार सोधिने प्रश्न तथा अन्य उपयोगी जानकारी पनि एपमा उपलब्ध गराइएको छ । यो एप एन्ड्रोइड र आइओएस दुवै माध्यममा उपलब्ध रहेको छ । सेवाग्राहीले गुगल प्ले स्टोर र एप्पल एप स्टोरमार्फत एप डाउनलोड गरेर प्रयोग गर्न सकिने बताइएको छ ।
७- प्रधानमन्त्री वालेन्द्र शाहले नेपाली नागरिकको दैनिक जीवनस्तर वास्तविक रूपमा सुधार गर्ने दिशामा आफ्नो नेतृत्वको सरकार प्रतिबद्ध रहेको बताएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज काठमाडौँ र नयाँदिल्लीस्थित युरोपेली सङ्घ तथा सदस्य राष्ट्रका राजदूतहरू र काठमाडौँस्थित अन्य देशका राजदूतहरूसँग भएको संयुक्त भेटवार्तामा प्रधानमन्त्री शाहले वर्तमान परिस्थितिको गम्भीरता र सरकारलाई प्राप्त जिम्मेवारीप्रति आफू पूर्ण रूपमा सचेत रहेको बताएका हुन् । प्रधानमन्त्री शाहका प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहालका अनुसार भेटका क्रममा प्रधानमन्त्री शाहले हालै सम्पन्न निर्वाचनले सुशासन र समावेशी आर्थिक समृद्धिका पक्षमा स्पष्ट जनादेश दिएको उल्लेख गरे । उनले नयाँ सरकार गठन भए पनि नीतिगत निरन्तरता कायम रहने स्पष्ट पारे ।
प्रधानमन्त्री शाहले ‘नयाँ हुनु भनेको विगतसँग पूर्ण रूपमा अलग हुनु होइन’ भन्दै नेपालको नीति स्पष्ट, स्थिर र अनुमान गर्न सकिने खालको रहने बताए । लोकतान्त्रिक मूल्य मान्यता संरक्षण र राजनीतिक स्थिरता कायम गर्न सरकार दृढ रहेको उनको भनाइ थियो । उनले सुशासन र समावेशी आर्थिक वृद्धिका माध्यमबाट जनताका लागि नयाँ अवसर सिर्जना गर्न सरकार केन्द्रित रहेको उल्लेख गरे । विश्व बजारबाट लाभ लिन, लगानी प्रक्रिया थप सहज बनाउन, नवप्रवर्तनलाई प्रोत्साहन गर्न तथा दिगो विकास हासिल गर्न सरकार प्रतिबद्ध रहेको उनले बताए । प्रधानमन्त्री शाहले नेपालले सन्तुलित र व्यावहारिक विदेश नीतिलाई निरन्तरता दिने स्पष्ट पारे । छिमेकी मुलुक, विकास साझेदार र मित्र राष्ट्रसँगको सम्बन्ध आपसी सम्मान, सार्वभौम समानता र साझा समृद्धिको सिद्धान्तमा आधारित रहेको उनले बताए ।
नेपालको विकास र समृद्धिमा निरन्तर सहयोग पुर्याएको भन्दै उहाँले विकास साझेदार तथा मित्र राष्ट्रहरूप्रति आभार व्यक्त गरे । साथै व्यापार, लगानी, हरित ऊर्जा, जलवायु, पर्यटन लगायतका क्षेत्रमा सहकार्य विस्तार गर्न नेपाल तयार रहेको पनि उनले स्पष्ट पारे । विश्वका विभिन्न क्षेत्रमा जारी द्वन्द्वका कारण सर्वसाधारण नागरिकले बढी पीडा भोग्नुपरेको उल्लेख गर्दै प्रधानमन्त्री शाहले शान्ति स्थापना गर्न सैन्य भिडन्तभन्दा संवाद, कूटनीति र अन्तर्राष्ट्रिय कानुनलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए । भेटका क्रममा युरोपेली सङ्घ तथा अन्य देशका राजदूतहरूले शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गरेको भन्दै नेपालको प्रशंसा गरेका थिए । साथै सुशासन, आर्थिक विकास र समृद्धिको एजेन्डासहित सरकारको नेतृत्व सम्हालेकोमा प्रधानमन्त्री शाहलाई बधाई दिएका थिए । राजदूतहरूले आर्थिक वृद्धि र समृद्धिका लागि विभिन्न क्षेत्रमा नेपालसँग सहकार्य र लगानी गर्न आफूहरू तयार रहेको बताएका थिए ।
८- विशेष अदालतमा दर्ता भएको घुस तथा रिसवतसम्बन्धी भ्रष्टाचार मुद्दामा सरकारी साक्षीका रूपमा प्रस्तुत भएका तीन जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आरोपपत्र दायर गरेको छ । विशेष अदालतमा दर्ता भएको मुद्दा नम्बर ०८२–सिआर–०१२० अन्तर्गत नेपाल सरकार वादी र ढुण्डिराज दाहाल प्रतिवादी रहेको भ्रष्टाचार मुद्दामा सरकारी साक्षीका रूपमा रहेका प्रल्हाद गौतम, विप्लव पोख्रेल र राजेश श्रेष्ठले अदालतमा प्रतिकूल बयान दिएको भन्दै उनीहरूमाथि अनुसन्धान गरिएको थियो । अनुसन्धानका क्रममा विशेष अदालत, काठमाडौंमा दर्ता भएको उक्त घुस तथा रिसवत मुद्दामा सरकारी साक्षीका रूपमा पेस गरिएका विप्लव पोख्रेल, प्रल्हाद गौतम र राजेश श्रेष्ठले प्रतिवादी ढुण्डिराज दाहाललाई घुस दिएको कार्य पुष्टि भएको आयोगले जनाएको छ ।
आयोगका अनुसार अनुसन्धानका क्रममा ती व्यक्तिहरूले अनुसन्धान अधिकृतलाई सहयोग गरेकाले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५५ अनुसार सजायमा पूर्ण छुट दिई प्रतिवादी नबनाई सरकारी साक्षीका रूपमा पेस गरिएको थियो । तर उनीहरूले विशेष अदालतमा २०८३ वैशाख २५ गते बकपत्र गर्दा आयोगसमक्ष दिएको बयानविपरीत बयान दिएको पुष्टि भएपछि पुनः अनुसन्धान अघि बढाइएको जनाइएको छ । आयोगका अनुसार भुक्तानी प्रक्रियामा सहजीकरण गरिदिने उद्देश्यले विप्लव पोख्रेलले आरएसभी मेटलको तर्फबाट २७ हजार ३५० रुपैयाँ र अभियान्ता नेपालको तर्फबाट २९ हजार रुपैयाँ गरी जम्मा ५६ हजार ३५० रुपैयाँ घुस दिएका थिए ।
त्यस्तै प्रल्हाद गौतमले शुभश्री टेक्नोलोजिज लगायतको तर्फबाट ३७ हजार ५०० रुपैयाँ तथा राजेश श्रेष्ठले विप्लव पोख्रेलमार्फत २७ हजार ३५० रुपैयाँ घुस दिएको पुष्टि भएको आयोगले जनाएको छ । यसरी कुल ९३ हजार ८५० रुपैयाँ प्रतिवादी ढुण्डिराज दाहाललाई घुस तथा रिसवत दिएको कार्य पुष्टि भएकाले उनीहरूको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा ३ अनुसारको कसुर भएको आयोगको ठहर छ । उनीहरूविरुद्ध कानुनबमोजिम सजायको माग गर्दै आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ ।
९- नेप्सेमा आज गिरावट आएको छ । आज मंगलबार नेप्से ९.२४ अंकले घटेर २७७७.१० विन्दुमा पुगेर रोकिएको छ । आज ३४२ कम्पनिका एक करोड १८ लाख ७२ हजार ५०७ कित्ता शेयर ४ अर्ब ८५ करोड ४४ लाख ४४ हजार १७० मा कारोबार भएको थियो । आज म्युचुअल फण्ड र निर्जीव वीमा बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ । आज, सबैभन्दा बढी कालिन्चोक हाइड्रोक्रो शेयर ९.२३ प्रतिशतले बढेको छ आज सबै भन्दा बढी सुपर खुदी हाइड्रोको शेयर ३.६० प्रतिशतले घटेको छ । त्यस्तै आज सबै भन्दा बढी अन्खु खोला जलविद्युतको ४६ करोड ७२ लाख बराबर कारोबार भएको छ भने रिढी पावरको १६ करोड ५९ लाख बराबरको कारोबार भएको छ ।
१०- राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं साधारण तारेखमा रिहा भएका छन् । जिल्ला अदालत पर्साका मुख्य न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजलासको आदेश अनुसार प्रसाईं साधारण तारेखमा रिहा भएका हुन् । यसअघि जिल्ला प्रहरी कार्यालय पर्साले सोमबार प्रसाईलाई अदालतमा उपस्थित गराए पनि मुद्दा हेर्न नभ्याएको भन्दै अदालतले उनलाई फिर्ता पठाएको थियो । प्रहरीले प्रसाईंमाथि विद्युतीय कारोबार ऐन तथा राज्यविरुद्धको कसूरअन्तर्गत अनुसन्धान गरिरहेको थियो । त्यस क्रममा दुई पटक म्याद थप गरेको थियो । प्रसाईको तर्फबाट दायर गरिएको बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाई गर्दै न्यायाधीश विनोद शर्मा र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले बन्दी प्रत्यक्षीकरणको खारेज गर्दै म्याद थप भएको सोमबारसम्म अनुसन्धान सक्न परमादेश जारी गरेको थियो । प्रसाईंलाई जेठ ४ गते राति वीरगन्जस्थित सिद्धार्थ दियालो होटलबाट पक्राउ गरिएको थियो ।
११- जनता समाजवादी पार्टी, नेपालले हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनको समीक्षा गर्दै चुनावी परिणाम आफ्नो पार्टीका लागि अप्रत्याशित र अनपेक्षित रहेको निष्कर्ष निकालेको छ । पार्टीको केन्द्रीय समन्वय समितिको बैठकपछि मंगलबार जारी गरेको विज्ञप्तिमा चुनावी प्रक्रियामा शक्ति केन्द्रहरूको भूमिका र परिणामबारे विभिन्न कोणबाट प्रश्न तथा शंका उठेको ठहर गरेको छ । जसपा नेपालले नेपालमा भएका ऐतिहासिक मधेश जनविद्रोह, जनआन्दोलन र संघर्षबाट प्राप्त संघीयता, लोकतन्त्र, गणतन्त्र, मौलिक हक, नागरिक स्वतन्त्रता तथा समावेशीताजस्ता उपलब्धिको रक्षा गर्ने विज्ञप्ति मार्फत् प्रतिबद्धता दोहो¥याएको छ ।
बैठकको समीक्षा र निर्णयहरू सार्वजनिक गर्न केन्द्रीय समन्वय समितिका सदस्य डा. सुरेन्द्र कुमार झाद्वारा हस्ताक्षरित विज्ञप्तिमा निर्वाचन परिणामबारे कालान्तरमा थप स्पष्टता आउने उल्लेख गरिएको छ । पार्टीले निर्वाचनमा धक्का ब्यहोरे पनि विगतका ऐतिहासिक मधेश जनविद्रोह, जनआन्दोलन र सङ्घर्षहरूबाट प्राप्त सङ्घीयता, लोकतन्त्र, गणतन्त्र, मौलिक हक र समावेशीताजस्ता महत्वपूर्ण उपलब्धिहरूको रक्षाका लागि अविचलित रूपमा अगाडि बढ्ने सङ्कल्प गरेको छ ।उत्पीडित, उपेक्षित, शोषित र विभेदमा पारिएका मधेशी, आदिवासी जनजाति, दलित, महिला, खस, पिछडावर्ग, थारु, मुस्लिम एवं अल्पसङ्ख्यक समुदायको पहिचान, अधिकार र मुक्तिका लागि पार्टी दृढताका साथ लागिरहने निर्णय बैठकले गरेको छ ।
बैठकले मानव अधिकार, लोकतान्त्रिक स्वतन्त्रता, भ्रष्टाचार नियन्त्रण, सुशासन, र कानुनी सेवामा पहुँच जस्ता मूलभूत मुद्दाहरूलाई आगामी दिनमा थप सशक्त रूपमा उठाउने नीति लिएको छ । पार्टीले निर्वाचन प्रणाली, निर्वाचन क्षेत्र निर्धारण, न्याय प्रणालीको पुनर्संरचना तथा संघीय व्यवस्थाको प्रभावकारी कार्यान्वयनका पक्षमा पनि आफ्नो आवाज सशक्त बनाउने संकेत दिएको छ ।
१२- नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले संविधान संशोधनका लागि सर्वपक्षीय शक्तिशाली आयोग बनाउन माग गरेका छन् । मंगलबारको प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद केसीले संविधान संशोधनका लागि पूर्वप्रधानन्यायाधीशको संयोजकत्वमा शक्तिशाली आयोग गठन गर्न माग गरेका हुन् । उनले संबिधान संशोधन जस्तो विषयलाई सत्ता वरिपरि केन्द्रित बहसमा सिमित गर्न नहुने भन्दै आयोगमा संविधानविद्,राजनीतिक दल, प्रशासनिक विज्ञ र नागरिक समाजका प्रतिनिधिहरू समावेश गर्न सुझाव दिएका छन् । बृहत्त राष्ट्रिय संवादबाट मात्र संविधान संशोधनले वैधता, जनविश्वास र साझा राष्ट्रिय सहमतिका साथै दीर्घकालीन स्थिरता, लोकतान्त्रिक विश्वास तथा राष्ट्रिय एकता र मेलमिलापको आधार तयार गर्न सक्ने उनको जिकिर छ ।
१३- काठमाडौँको गोकर्णेश्वर नगरपालिकाका विभिन्न वडामा बर्डफ्लु रोग पुष्टि भएको छ । नगरपालिकाका अनुसार वडा नम्बर २, ३ र ४ मा उच्च सङ्क्रामक एच–फाइभ एन–वान प्रकारको एभियन इन्फ्लुएन्जा अर्थात् बर्डफ्लु रोग पुष्टि भएको हो । रोग नियन्त्रणका लागि प्रभावित क्षेत्रमा रहेका हाँस, कुखुरा, बट्टाई, लौकाट, अण्डा, दाना लगायत संक्रमण फैलाउन सक्ने अन्य सामग्री नष्ट गर्ने, सुरक्षित रूपमा व्यवस्थापन गर्ने तथा निसंक्रमण गर्ने कार्य जारी रहेको जनाइएको छ । नगरपालिकाले बर्डफ्लु पन्छीबाट मानिसमा समेत सर्न सक्ने उच्च जोखिमयुक्त रोग भएकाले सम्पूर्ण सर्वसाधारण र सरोकारवालालाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ ।
सूचनामा पन्छी फार्ममा अनावश्यक व्यक्ति र सवारीसाधन प्रवेश गर्न नदिन, प्रवेश गराउनै परे निसंक्रमण गरेर मात्र अनुमति दिन आग्रह गरिएको छ । एउटै फार्ममा काम गर्ने व्यक्ति अर्को फार्ममा नजान पनि अनुरोध गरिएको छ । त्यसैगरी प्रयोग भइसकेका अण्डा राख्ने कागजी क्रेट पुनः प्रयोग नगर्न, फार्म वा खोर प्रवेशद्वारमा चुना तथा निसंक्रमण औषधि राखिएको फुटबाथ अनिवार्य प्रयोग गर्न तथा प्रत्येक पटक खोरमा प्रवेश गर्दा बुट र एप्रोन प्रयोग गर्न भनिएको छ । खोरभित्र र बाहिर दैनिक रूपमा निसंक्रमण गर्न, कुकुर, बिरालो, मुसा लगायत अन्य जनावर प्रवेश गर्न नदिने व्यवस्था मिलाउन तथा मरेका पन्छीलाई सकेसम्म छिटो सुरक्षित तरिकाले खाडलमा गाड्न पनि आग्रह गरिएको छ । त्यस्तै पन्छी फार्ममा काम गर्ने व्यक्तिलाई व्यक्तिगत सुरक्षाका उपाय अपनाउन, नियमित हातखुट्टा धुन र स्वास्थ्यमा समस्या देखिए तुरुन्त स्वास्थ्य संस्थामा सम्पर्क गर्न भनिएको छ ।
१४- नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार सुनको मुल्य तोलाको १३ सयले घटेर तोलाको २ लाख ९१ हजार ५ सयमा कारोबार भइरहेको छ । यसअघि सोमबार सुन तोलाको २ लाख ९२ हजार ८ सयमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मुल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ९० रुपैयाँले घटेर ५०६० मा कारोबार भइरहेको छ । यसअघि सोमबार चाँदी तोलाको ५१५० मा कारोबार भएको थियो ।
१५- बलिउड अभिनेता रणवीर सिंहमाथि फेडेरेसन अफ वेस्टर्न इन्डिया सिने एम्प्लोइजले असहयोग निर्देशन (एक किसिमको प्रतिबन्ध) जारी गरेको छ । अभिनेता तथा निर्देशक फरहान अख्तरको उजुरीपछि यस्तो निर्णय गरिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । फेडेरेसनले रणवीर सिंहसँग काम नगर्न सदस्यहरूलाई निर्देशन दिएको हो । यो निर्णय चलचित्र डन–३ विवादसँग जोडिएको बताइएको छ । फरहान अख्तरले रणवीर सिंहले चलचित्रको पूर्वतयारी सुरु भइसकेपछि अचानक डन–३ बाट बाहिरिने निर्णय गरेको आरोप लगाएका छन् ।
उनका अनुसार यसका कारण निर्माण टोलीलाई करिब ४५ करोड भारतीय रुपैयाँ बराबरको नोक्सानी भएको छ । फेडेरेसनका अनुसार रणवीरलाई २२ अप्रिल, ३० अप्रिल र १३ मे २०२६ मा पत्र पठाइएको थियो । त्यसको जवाफमा रणवीर पक्षले उजुरी समाधानका लागि फेडेरेसन उचित मञ्च नभएको र यो विषय सम्झौतासँग सम्बन्धित भएकाले कानुनी निकाय वा अदालतमा जानुपर्ने बताएको थियो । फरहान अख्तरले सन् २०२३ मा रणवीर सिंहलाई लिएर डन–३ निर्माणको घोषणा गरेका थिए । यसअघि सन् २००६ मा शाहरुख खान अभिनित डन र सन् २०११ मा आएको डन–२ प्रदर्शन भएका थिए । फरहान अख्तरले आफ्नो निर्माण संस्था एक्सेल इन्टरटेनमेन्टमार्फत चलचित्र निर्माण गरिरहेका थिए । उनले डन–३ अगाडि बढाउन आफ्नो अर्को चलचित्र ‘जी ले जरा’ समेत स्थगित गरेका थिए ।
चलचित्र ढिलो हुँदै जाँदा रणवीर सिंह ‘धुरन्धर’ चलचित्रमा व्यस्त बनेका थिए । सन् २०२५ मा ‘डन–३’ को छायांकन सुरु हुने चर्चा भए पनि त्यसपछि रणवीरले अचानक चलचित्र छोडेको खबर आएको थियो । निर्माण पक्षले रणवीरले पटकथामा हस्तक्षेप गरेको आरोप लगाएको छ । उनी अश्लील संवाद र हिंसात्मक दृश्य थप्न दबाब दिइरहेका थिए तर निर्माण टोली त्यसमा सहमत नभएको जनाइएको छ । भारतीय सञ्चारमाध्यम मिड डेका अनुसार रणवीरले चलचित्र छोडेर हस्ताक्षर रकम फिर्ता गर्ने तयारी गरेका छन् । तर निर्माण पक्षले पूर्वतयारी, छायांकन तालिका परिवर्तन र पटकथा पुनःलेखनमा ठूलो रकम खर्च गरिसकेको थियो । त्यसपछि फरहान अख्तरले प्रोड्युसर्स गिल्डमा उजुरी गर्दै ४५ करोड रुपैयाँ क्षतिपूर्ति माग गरेका थिए ।
उनले पूर्वतयारी र छायांकन तालिकामा गरिएको परिवर्तनका कारण ठूलो आर्थिक क्षति भएको बताएका छन् । रणवीरमाथिको असहयोग निर्देशनले उनका आगामी चलचित्रमा असर पर्ने देखिएको छ । उनका आगामी परियोजनामा ‘किङ’मा विशेष भूमिका, निर्देशक आदित्य धरको नयाँ चलचित्र, कियारा आडवाणीसँगको अर्को चलचित्र र सञ्जय लीला भन्सालीको ‘बैजू बावरा’ रहेका छन् । यी चलचित्रमा काम गर्ने अधिकांश प्राविधिक र कनिष्ठ कलाकार फेडेरेसनसँग आबद्ध भएकाले छायांकन प्रभावित हुन सक्ने बताइएको छ । निर्माताहरूले रणवीरसँग नयाँ चलचित्र सुरु गर्नुअघि फेडेरेसनबाट ‘नो अब्जेक्सन’ प्रमाणपत्र लिनुपर्ने अवस्था आउन सक्ने भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।
१६- स्पेनका मुख्य प्रशिक्षक लुइस दे ला फुएन्तेले आगामी विश्वकपका लागि २६ सदस्यीय टोली घोषणा गरेका छन् । टोलीमा युवा खेलाडी लामिन यमल समावेश हुँदा रियल म्याड्रिडका कुनै पनि खेलाडीले स्थान पाएका छैनन् । सन् २०२२ को विश्वकपमा अन्तिम १६ बाट बाहिरिएको स्पेनले त्यसपछि युरोपियन च्याम्पियनसिप २०२४ जित्दै पुनः बलियो टोलीका रूपमा आफूलाई स्थापित गरेको थियो । यसपटकको विश्वकप जित्ने दाबेदार टोलीमध्ये स्पेनलाई पनि एक मानिएको छ । स्पेनले जुन १५ मा केप भर्डेविरुद्ध खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ । समूह चरणमा उसले साउदी अरेबिया र उरुग्वेको पनि सामना गर्नेछ ।
प्रशिक्षक दे ला फुएन्तेले लामिन यमल, निको विलियम्स र मिकेल मेरिनोको स्वास्थ्य अवस्थालाई लिएर आफू चिन्तित नरहेको बताएका छन् । उनले यी तीनै खेलाडी प्रतियोगिताको पहिलो खेलका लागि तयार हुनेमा आफू विश्वस्त रहेको बताए । म्याड्रिडमा आयोजित कार्यक्रममा उनले गोलरक्षकतर्फ एथलेटिक क्लबका उनाइ सिमोन, आर्सनलका डाभिड राय र बार्सिलोनाका जोआन गार्सियालाई टोलीमा समावेश गरेका छन् । रक्षापङ्क्तिमा मार्क कुकुरेला, आलेहान्द्रो ग्रिमाल्दो, पाउ कुबार्सी, आयमेरिक लापोर्ते, मार्क पुबिल, एरिक गार्सिया, मार्कोस योरेन्ते र पेड्रो पोरोले स्थान पाए । त्यस्तै मिडफिल्डरमा पेड्री, फाबियान रुइज, मार्टिन जुबिमेन्डी, गाभी, रोड्री, आलेक्स बाएना र मिकेल मेरिनोलाई समेटिएको छ । त्यसैगरी फरवार्डमा मिकेल ओयारजाबाल, डानी ओल्मो, निको विलियम्स, येरेमी पिनो, फेरान टोरेस, बोर्जा इग्लेसियास, भिक्टर मुनोज र लामिन यमललाई टोलीमा राखिएको छ । डिन हुइसेन र डानी कार्भाजालसँगै एट्लेटिको म्याड्रिडका रोबिन ले नोर्मान्ड पनि टोलीमा अटाउन सकेनन् ।
बार्सिलोनाका फेर्मिन लोपेज खुट्टाको हड्डी भाँचिएपछि टोलीबाट बाहिरिएका हुन् । खेलाडी छनोटबारे प्रशिक्षक दे ला फुएन्तेले टोलीको आवश्यकता र विपक्षीको शैलीलाई ध्यानमा राखेर अन्तिम टोली चयन गरिएको बताए । उनले खेलाडी कुन क्लबबाट खेल्छ भन्ने आधारमा नभई टोलीको आवश्यकता अनुसार छनोट गरिएको स्पष्ट पारेका छन् । स्पेनले विश्वकपअघि जुन ४ मा आफ्नै मैदान आ कोरुनामा इराकसँग मैत्रीपूर्ण खेल खेल्नेछ । त्यसपछि जुन ८ मा मेक्सिकोको पुएब्लामा पेरुसँग अर्को अभ्यास खेल खेल्ने तालिका छ ।
१७- गोरखा मिडिया नेटवर्क प्रालिका नाममा काठमाडौँ महानगरपालिकाले १५ दिने अन्तिम सार्वजनिक सूचना जारी गरेको छ । काठमाडौँ महानगरपालिका वडा नम्बर ३ निवासी मृगेन्द्र प्रसाद मिश्रले गोरखा मिडिया नेटवर्कका अध्यक्ष गितेन्द्र बाबु राईविरुद्ध दायर गरेको ‘भाडा असुल उपर गरी घरजग्गा खाली गराइपाऊँ’ मुद्दामा न्यायिक समितिले यसअघि नै घरजग्गा खाली गराउने निर्णय गरेको थियो । काठमाडौँ महानगरपालिका न्यायिक समितिले २०८१ कात्तिक १४ गते वादीको दाबीअनुसार बहाल रकम तथा बहाल कर प्रतिवादीबाट असुल गरी घरजग्गा खाली गराउने फैसला गरेको थियो ।
उक्त निर्णयविरुद्ध परेको निवेदनमा उच्च अदालत पाटनले २०८२ साउन २८ गते दुई महिनाभित्र न्यायिक समितिको निर्णय कार्यान्वयन गर्न काठमाडौँ महानगरपालिकाका नाममा परमादेश जारी गरेको थियो । अदालतको आदेशपछि २०८२ कात्तिक १४ गते महानगरपालिकाको टोली खटिएर निर्णय कार्यान्वयन गरिएको जनाइएको छ । निर्णय कार्यान्वयन भएको ६ महिना पूरा भएपछि ग्यालेक्सी फोरके टेलिभिजन कार्यालयमा रहेका सामान लिलाम गरिपाऊँ भन्दै मृगेन्द्र मिश्रले गत वैशाख २१ गते निवेदन दिएका थिए । त्यसपछि महानगरपालिकाले सूचना जारी गर्दै १५ दिनभित्र घरधनीलाई बुझाउनुपर्ने बहाल रकम बुझाई ग्यालेक्सी फोरके टेलिभिजनसँग सम्बन्धित सरसामान लैजान आग्रह गरेको छ । महानगरपालिकाले तोकिएको अवधिभित्र सामान नलगिए काठमाडौँ महानगरपालिका विवाद निरूपण कार्यविधि ऐन २०७५ को दफा ७० बमोजिम सामान लिलाम गरिने चेतावनी समेत दिएको छ ।
१८- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले उखु किसानको बाँकी भुक्तानी तत्काल गर्न सरकारसँग माग गरेका छन् । मंगलबार बसेको प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद सिंहले उखु किसनलाई चिनी मिल दिने भुक्तानी र सरकारले दिने अनुदानको भुक्तानी नभएको भन्दै तत्काल भुक्तानीको व्यवस्था गर्न माग गरेका हुन् । सांसद सिंहले रोपाइँको सिजन केहि दिनमै सुरू हुन लागेको भन्दै मलको उपलब्धताको माग गरेका छन् । उनले बागमतीको कटानले सर्लाहीको बरहथवाका ५० हजारभन्दा बढी नागरिकहरूको उठीबास हुने अवस्था रहेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।
१९- स्नो रिभर्स लिमिटेडको आइपिओ बाँडफाँड सम्पन्न भएको छ । बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेडले कम्पनीको आइपिओ आज बाँडफाँड गरेको हो । कम्पनीको आइपिओमा २६ लाख १ हजार ८४८ जनाको आवेदन परेको थियो । जस मध्ये २५ लाख ५७ हजार ८५५ जनाको आवेदन मात्र योग्य भएको छ भने बाँकी ४३ हजार ९९३ लगानीकर्ताको आवेदन रद्द भएको छ । कम्पनीको आइपिओमा ७७ हजार ८१२ जना आवेदकले १० कित्ताका दरले सेयर पाएका छन् भने ५ जनाले ११ कित्ताका दरले सेयर हात पारेका छन् । कम्पनीले वैशाख २९ गतेदेखि जेठ १ गतेसम्म आम सर्वसाधारणका लागि ७ लाख ७८ हजार १२५ कित्ता सेयर निष्काशन गरेको थियो । आइपिओको नतिजा सीडीएससी, मेरो सेयर तथा सानिमा क्यापिटलको वेभसाइटबाट हेर्न सकिनेछ ।
२०- युद्धविराम कायम रहेका बेला अमेरिका र इरानबीच जारी वार्ता चलिरहेकै अवस्थामा अमेरिकी सेनाले सोमबार होर्मुज जलडमरूमध्य आसपास इरानी क्षेप्यास्त्र प्रक्षेपण स्थल र डुङ्गालाई लक्षित गर्दै ‘आत्मरक्षात्मक आक्रमण’ गरेको जनाएको छ । अमेरिकी केन्द्रीय कमान्डका अनुसार दक्षिणी इरानमा रहेका अमेरिकी सैनिकमाथि सम्भावित जोखिम देखिएपछि उक्त आक्रमण गरिएको हो । अमेरिकी केन्द्रीय कमान्डका प्रवक्ता टिमोथी हकिन्सले समाचार संस्था सिएनएनसँग कुरा गर्दै अमेरिकी फौजले इरानी सैन्य खतराबाट आफ्ना सैनिकको सुरक्षा गर्न आत्मरक्षात्मक आक्रमण गरेको बताएका हुन् ।
उनका अनुसार आक्रमणको निशानामा क्षेप्यास्त्र प्रक्षेपण स्थल तथा समुद्रमा बारुदी सुरुङ बिछ्याउने प्रयास गरिरहेका इरानी डुङ्गा परेका थिए । उनले जारी युद्धविरामका बीच अमेरिकी केन्द्रीय कमान्डले संयमता अपनाउँदै आफ्ना सैनिकको सुरक्षा जारी राखेको बताए । यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको समृद्ध युरेनियम नष्ट गर्ने आफ्नो योजना सार्वजनिक गरेका छन् । उनले उक्त युरेनियम तत्काल अमेरिकामा ल्याएर नष्ट गरिने वा इरानकै सहमतिमा त्यहीँ अथवा अर्को उपयुक्त स्थानमा नष्ट गरिने बताएका छन् । ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत दिएको अभिव्यक्तिमा अन्तर्राष्ट्रिय परमाणु ऊर्जा निकाय वा सोसरहको निकायको उपस्थितिमा उक्त प्रक्रिया सम्पन्न गरिने उल्लेख गरेका छन् । गत साता ह्वाइट हाउसस्थित ओभल कार्यालयमा पत्रकारसँग कुरा गर्दै ट्रम्पले अमेरिकाले इरानको समृद्ध युरेनियम फिर्ता ल्याउने विषयमा कुनै सम्झौता नगर्ने बताएका थिए । उनले युरेनियम प्राप्त गरेपछि सम्भवतः नष्ट गर्ने, तर इरानलाई त्यसको नियन्त्रणमा रहन बदिने बताएका थिए ।