काठमाडौं । बडादसैँको टीकाका दिन आज नेपाल प्रहरीले काठमाडौं उपत्यकामा सर्वसाधारणको सहज आवागमनका लागि निःशुल्क बस सेवा सञ्चालन गरेको छ। सार्वजनिक यातायातको उपलब्धता कम हुन सक्ने अवस्थालाई ध्यानमा राख्दै प्रहरीले उपत्यकाका तीनवटा रुटमा बस चलाएको हो।
नेपाल प्रहरीका अनुसार आज बुधबार बिहान ८ बजे पहिलो सिफ्टको सेवा सुरु भएको छ भने दिउँसो ३ः३० बजे दोस्रो सिफ्ट सञ्चालन हुनेछ।
प्रहरीले सञ्चालन गरेका तीनवटै रुट नक्सालबाट सुरु भई विभिन्न स्थान हुँदै पुनः नक्सालमै पुगेर टुंगिनेछन्।
नक्साल–बालुवाटार–टिचिङ–चक्रपथ–नयाँ बसपार्क–बालाजु–स्वयम्भू–कलंकी–बल्खु–सातदोबाटो–लगनखेल–जावलाखेल–थापाथली–माइतीघर–पुतलीसडक–कृष्णपाउरोटी–जयनेपाल हल हुँदै नक्साल।
नक्साल–रत्नपार्क–बानेश्वर–कोटेश्वर–सल्लाघारी–सूर्यविनायक चोक–कोटेश्वर–विमानस्थल–गौशाला–चाबहिल–सुकेधारा–चक्रपथ–टिचिङ–बालुवाटार हुँदै नक्साल।

नक्साल–सोह्रखुट्टे–बालाजु चोक–नयाँ बसपार्क–नारायणगोपाल चोक–चक्रपथ–सुकेधारा–गौशाला–विमानस्थल–कोटेश्वर–सातदोबाटो–एकान्तकुना–बल्खु–कलंकी–नयाँ बसपार्क–चक्रपथ–महाराजगन्ज हुँदै नक्साल।

दसैँका बेला आफन्तको घरमा टीका लगाउन जाने तथा अन्य कामले आवतजावत गर्ने सर्वसाधारणलाई सहज होस् भन्ने उद्देश्यले निःशुल्क बस सेवा सञ्चालन गरिएको प्रहरीले जनाएको छ।

प्रहरीले उपलब्ध गराएको विवरणअनुसार यी रुटमा यात्रा गर्ने सर्वसाधारणले तोकिएको समयमा निःशुल्क बस सेवा उपयोग गर्न सक्नेछन्।