काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद असीम शाहले सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम ‘कर्मकाण्डी’ भएको टिप्पणी गरेका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा उनले सरकारको नीति तथा कार्यक्रममा जनताको हकहितका कुनै पनि विषय समावेश नभएकाले प्रथम पृष्ठमा ‘डिस्क्लेमर’ राख्दा उपयुक्त हुने उल्लेख गरे ।
‘सर्वप्रथम त नीति तथा कार्यक्रमको पहिलो पेजमा ‘डिस्क्लेमर’ राख्नुपर्छ जस्तो लाग्छ मलाई,’ सांसद शाहले भने, ‘यस नीति तथा कार्यक्रमका सबै बुँदाहरू काल्पनिक हुन् । जनताको वास्तविक जीवनसँग मेल खान गएमा संयोग मात्र हुनेछ । संसद्मा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुने वार्षिक कर्मकाण्डजस्तै भइसकेको छ ।’
दुई ठूला दलहरू नेपाली कांग्रेस र नेकपा (एमाले) मिलेर सरकार बनेपछि ठूलो सुधारको आशा गरिए पनि ‘हात्ती आयो हात्ती आयो फुस्सा’ जस्तै भएको उनले बताए ।
‘हात्ती ठूलो जनावर भएका कारण हात्ती आउँदा के–के न होला भन्ने हुन्छ । तर, हात्ती नै आउँदा पनि केही नभएपछि मान्छेहरू भन्छन्– हात्ती आयो हात्ती आयो फुस्सा ! अहिलेको सरकार पनि हात्तीजस्तै लाग्न थालेको छ मलाई,’ उनले भने, ‘ठूला पार्टी मिलेर बनेको शक्तिशाली गठबन्धन, वर्षौँदेखि बजेट ल्याएका, सत्तामा रहेका, नीति कार्यक्रम ल्याएका, विज्ञ नेता–कार्यकर्ता भएका पार्टीले के–के न खतरा नीति कार्यक्रम ल्याउलान् भनेको, तर वास्तविकता फेरि पुरानै उस्तै ढर्रा, उस्तै भाषाशैली, उस्तै नियत झल्काउने दस्तावेज प्रकट भएको छ ।’
उनले स्थायित्वको नारा लगाइरहेको सरकारका प्रधानमन्त्री र गृहमन्त्रीले नै सरकार ढल्दैन भन्दै हिँड्नुपरेको उल्लेख गर्दै बजेटपछि सरकार के हुन्छ भनी प्रश्न गरे । सरकारलाई स्थायित्वतिर लाग्न सुझाव दिँदै उनले सरकार ढलेमा रास्वपा साथ दिने पक्षमा नरहेको स्पष्ट पारे ।
‘अहिले जसरी सरकार ढल्दैन भनेर प्रधानमन्त्री, गृहमन्त्रीले बोलिराख्नुपर्ने अवस्था छ र जसरी कमरेड प्रचण्डसँग सम्बन्ध सुमधुर बनाउनेतिर पनि लाग्नुभएको छ, अब बजेटपछि के हुन्छ यो सरकार ?,’ सांसद शाहले भने, ‘अघिल्लो पटक ‘सेबोन’ ले ढलाएको सरकार के अब गभर्नरको कुराले ढल्ला त ? फेरि टेको खोज्दै हिँड्नुपर्ने अवस्था आउँछ । तपाईंहरू ‘स्ट्रङ’ हुनुहोस् । स्थायित्वतिर लाग्नुहोला । हामी टेको दिने पक्षमा छैनौँ ।’
सांसद शाहको भनाइ जस्ताको तस्तै–
![]()
‘सर्वप्रथम त नीति तथा कार्यक्रमको पहिलो पेजमा ‘डिस्क्लेमर’ राख्नुपर्छ जस्तो लाग्छ मलाई । यस नीति तथा कार्यक्रमका सबै बुँदाहरू काल्पनिक हुन् । जनताको वास्तविक जीवनसँग मेल खान गएमा संयोग मात्र हुनेछ । संसद्मा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुने वार्षिक कर्मकाण्डजस्तै भइसकेको छ ।
![]()
हामी नयाँ दल, नयाँ सांसद । पहिलो वर्ष हामीलाई ‘फुलस्टप’ र ‘कमा’ ‘चेञ्ज’ हुँदैन भन्ने कुरा थाहा थिएन । त्यही भएर अलि बढी मच्चिएर काम गर्यौँ । दोस्रो वर्ष प्रि–बजेट छलफल पनि हुन थाल्यो । तेस्रो वर्षमा आएर त्यही पुरानो पारा ‘रिपिट’ भएको छ ।
वास्तवमा यो सरकार बन्दा हामी अलिकति सशङ्कित भए पनि यो नयाँ प्रयोगले सन्तुष्ट नै थियौँ । किनभने यसले स्थायित्व दिन्छ भन्ने लागेको थियो । तर, अहिले जसरी सरकार ढल्दैन भनेर प्रधानमन्त्री, गृहमन्त्रीले बोलिराख्नुपर्ने अवस्था छ र जसरी कमरेड प्रचण्डसँग सम्बन्ध सुमधुर बनाउनेतिर पनि लाग्नुभएको छ, अब बजेटपछि के हुन्छ यो सरकार ? अघिल्लो पटक ‘सेबोन’ ले ढलाएको सरकार के अब गभर्नरको कुराले ढल्ला त ? फेरि टेको खोज्दै हिँड्नुपर्ने अवस्था आउँछ । तपाईंहरू ‘स्ट्रङ’ हुनुहोस् । स्थायित्वतिर लाग्नुहोला । हामी टेको दिने पक्षमा छैनौँ ।
हात्ती ठूलो जनावर भएका कारण हात्ती आउँदा के–के न होला भन्ने हुन्छ । तर, हात्ती नै आउँदा पनि केही नभएपछि मान्छेहरू भन्छन्– हात्ती आयो हात्ती आयो फुस्सा ! अहिलेको सरकार पनि हात्तीजस्तै लाग्न थालेको छ मलाई । ठूला पार्टी मिलेर बनेको शक्तिशाली गठबन्धन, वर्षौँदेखि बजेट ल्याएका, सत्तामा रहेका, नीति कार्यक्रम ल्याएका, विज्ञ नेता–कार्यकर्ता भएका पार्टीले के–के न खतरा नीति कार्यक्रम ल्याउलान् भनेको, तर वास्तविकता फेरि पुरानै उस्तै ढर्रा, उस्तै भाषाशैली, उस्तै नियत झल्काउने दस्तावेज प्रकट भएको छ ।’
FACEBOOK COMMENTS