चितवन । भारतीय सीमा क्षेत्रबाट अवैध रूपमा अण्डा, चल्ला र मासु भित्रिने क्रम बढेको भन्दै सरोकार भएकाहरूले सशस्त्र प्रहरी बलको ध्यानाकर्षण गराएका छन् ।
आज सशस्त्र प्रहरी बल नेपाल नं ५ विन्दावासिनी बाहिनी मुख्यालय चन्द्रौटाका प्रमुख सशस्त्र प्रहरी नायब महानिरिक्षक प्रदीपकुमार पाललाई भेट गरी ध्यानाकर्षण गराइएको हो । नेपाल लेयर्स कुखुरापालक सङ्घ, ह्याचरी उद्योग सङ्घ, पोल्ट्री व्यवसायी मञ्चलगायत लुम्बिनी प्रदेशका सीमा क्षेत्रका जिल्लाका कुखुरापालक कृषकले सो कार्य रोक्न माग गर्दै संयुक्त रूपमा ध्यानाकर्षण गराएका हुन् ।
नेपाल लेयर्स कुखुरापालक सङ्घका अध्यक्ष विनोद पोखरेलका अनुसार भेटका क्रममा सशस्त्र प्रहरी नायब महानिरीक्षक पालले सीमा क्षेत्रमा खटिएका आफू मातहतका सशस्त्र प्रहरीलाई यसअघि निर्देशन दिइएको र पुनः यस विषयमा निर्देशन दिइने बताउनुभयो । खुला सिमाना भएकाले सशस्त्र प्रहरीको मात्र भर परेर नहुने भन्दै उहाँले सरोकार भएकाहरू र स्थानीयको सहयोग आवश्यक रहेको बताए ।
भारतीय सीमा क्षेत्रबाट अवैध रूपमा पोल्ट्रीजन्य पदार्थ भित्रिएसँगै रोगको उच्च जोखिम र बजार अस्थव्यस्त बनेको ह्याचरी उद्योग सङ्घका केन्द्रीय वरिष्ठ उपाध्यक्ष लामिछानेले बताए ।
भारतको उत्तर प्रदेश र बिहार क्षेत्रमा बर्डफ्लु देखापरेपछि रोग भित्रिने डरले सरोकार भएकाहरूले गृह प्रशासनलाई गुहारेका छन् । केही दिनअघि गृहमन्त्री रमेश लेखकलाई भेटेर व्यवसायीले यस विषयमा जानकारी गराएका थिए ।
FACEBOOK COMMENTS