काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले शाखा प्रमुख (ब्रान्च म्यानेजर) सम्मेलन चितवनमा सम्पन्न गरेको छ।
साउन १४ देखि १७ गतेसम्म चार दिन सञ्चालन भएको सम्मेलनमा आर्थिक वर्ष २०८२/८३ को समीक्षा, आगामी आर्थिक वर्ष २०८३/८४ को व्यावसायिक रणनीति, उत्कृष्ट कर्मचारी तथा शाखा सम्मान र क्षमता अभिवृद्धिसम्बन्धी प्रशिक्षण कार्यक्रम आयोजना गरिएको कम्पनीले जनाएको छ।
सम्मेलनको उद्घाटन कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सन्तोष प्रसाईंले गरेका थिए। उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले आर्थिक वर्ष २०८२/८३ मा कम्पनीले अघिल्लो वर्षको तुलनामा सन्तोषजनक व्यवसायिक वृद्धि हासिल गरेको उल्लेख गर्दै कर्मचारी, अभिकर्ता तथा बीमितप्रति धन्यवाद व्यक्त गरे। उनले आगामी वर्षको रणनीति कार्यान्वयनमा आत्मविश्वासका साथ अघि बढ्न सबैलाई आग्रह गरेको कम्पनीले जनाएको छ।
कार्यक्रममा कम्पनीका व्यवस्थापन टोली, प्रदेश प्रमुख, शाखा प्रमुख तथा सेल्स एक्जुकेटिभसहित देशभरबाट करिब २०० जनाको सहभागिता रहेको थियो। यस्तै, सम्मेलनका क्रममा आर्थिक वर्ष २०८२र८३ मा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रदेश प्रमुख, शाखा प्रमुख, सेल्स एक्जुकेटिभ तथा शाखाहरूलाई सम्मान गरिएको कम्पनीले जनाएको छ। कार्यक्रममा आचार्य राजाबाबु साहले ‘पावर अफ माइन्ड सेट फर बिजनेस ग्रोथ’ विषयमा प्रशिक्षण दिएका थिए। उक्त प्रशिक्षणले सहभागीहरूको व्यावसायिक क्षमता अभिवृद्धि तथा नेतृत्व विकासमा सकारात्मक ऊर्जा प्रदान गरेको कम्पनीको भनाइ छ।
यस्तै, नायब प्रमुख कार्यकारी अधिकृत किशोर प्रसाद लामिछानेले विगतका अनुभवबाट सिक्दै सुधारसहित आगामी दिनमा अझ ठूलो सफलता हासिल गर्नुपर्नेमा जोड दिए। कम्पनीका नायब महाप्रबन्धक तथा नेशनल सेल्स हेड सोनबहादुर मगरले चालु आर्थिक वर्षको व्यावसायिक रणनीति प्रस्तुत गरेका थिए।