काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले काठमाडौंको पिङ्गलास्थानमा रहेको बेटर नेपाल संस्थालाई विद्यालय सञ्चालन गर्न ५ लाख रुपैयाँ सहयोग प्रदान गरेको छ । बेटर नेपालले सञ्चालन गरेको बाल सारथिले अनाथ तथा अति विपन्न वर्गका बालबाकालिकाहरूलाई शिक्षाको अवसर दिलाउँदै आएको छ ।
आज बुधबार बाल सारथिको कार्यालयमा सम्पन्न कार्यक्रममा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईंले बाल सारथि संस्था सञ्चालन गर्ने बेटर नेपालकी अध्यक्ष डा. माला खरेललाई ५ लाख रुपैयाँको चेक हस्तान्तरण गरे ।
चेक हस्तान्तरणपछि कार्यक्रमलाई सम्बोधन गर्दै प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईंले विशुद्ध सामाजिक कार्य गर्ने संस्थाहरूलाई कम्पनीले सहयोग गर्न पाउँदा खुसी व्यक्त गरे । कम्पनीले अति आवश्यक क्षेत्रको पहिचान गरी संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग र सामाजिक कार्य गर्दै आइरहेको र आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे ।
त्यसैगरी, बेटर नेपालकी अध्यक्ष डा. माला खरेलले अनाथ तथा अति विपन्न वर्गका विद्यार्थीहरूको पढाइलाई संस्थाले व्यहोरे पनि सो खर्चको स्रोत प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स जस्ता सहयोगी संस्थाहरू र मनकारी व्यक्तिहरूको सहयोगले गर्दा नै निरन्तरता दिन सकिएको भन्दै धन्यवाद व्यक्त गरिन् ।
कार्यक्रममा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सकी सञ्चालक समिति सदस्य सम्झना अर्याल (अस्मिता सुमार्गी), सुसन शेरचन, भावना बलायर, नायब प्रमुख कार्यकारी अधिकृत किशोरप्रसाद लामिछाने, नायब महाप्रबन्धक सोनबहादुर मगर, ब्राण्डिङ विभाग प्रमुख विनोद घिमिरे एवम् बेटर नेपालका तर्फबाट कमला वली, आत्माराम पाण्डे लगायतको उपस्थिति थियो ।
FACEBOOK COMMENTS