काठमाडौं । स्वतन्त्र सांसद प्रभु साहले जनतासँग सरकारले ट्याक्स उठाउन नपाउने तर्क गरेका छन् ।
प्रतिनिधि सभाको बैठकमा विनियोजन विधेयकहरूमाथिको चलफलमा सहभागी हुने क्रममा उनले वर्तमान सरकारले जनतासँग कर उठाउन नपाउने बताएका हुन् ।
सरकारले चलाएको उद्योग र व्यवसायहरू घाटामा गइरहेको बेला निजी क्षेत्रसँग कर उठाउन नपाउने उनको तर्क छ ।
उनको भनाइ जस्ताकोत्यस्तै–
म दुई तिहाइको सरकारलाई सोध्न चाहान्छु– तपाइँहरूले खोलेको सरकारी उद्योगहरू घाटामा छ, तपाइँहरूले चलाएको ट्रेन घाटामा छ, तपाइँहरूले उडाएको प्लेन घाटामा छ । सरकारले घाटा गरिराख्दा निजी कारोबार गर्ने व्यवसायीहरूसँग ट्याक्स लिन मिल्छ कि मिल्दैन ? यदि सरकारको उद्योगमा घाटा छ भने व्यक्तिको उद्योगसँग ट्याक्स लिन मिल्छ कि मिल्दैन ? ट्रेनमा तपाइँहरूले यत्रो घाटा गरिराख्दा सवारीसाधनको कर लिन मिल्छ कि मिल्दैन ? सरकारको हवाई क्षेत्रमा घाटा गरिराख्दा निजी एअरलाइन्ससँग ट्याक्स लिन मिल्छ कि मिल्दैन ? यो तथ्याङ्कले भन्छ– देशमा व्यापक लुट छ ।
व्यक्तिभन्दा बलियो संस्था हुन्छ, संस्था भन्दा बलियो राज्य हुन्छ, राज्यको पनि दुईतिहाइको सरकार छ । अनि तपाइँहरूको पालामा घाटा हुन्छ भनेर दुनियाँले कसरी मानिदिनपर्ने हो ? त्यसैले घाटाको चित्तबुझ्दो जवाफ दिनुहोस् । यो लुट होइन तपाइँहरूको सुशासन र कुशलता हो भने परिणाम के हो भन्ने कुरा म जान्न चाहान्छु, नेपाली जनता जान्न चाहान्छ । यदि तपाइँ सक्नुहुन्न भने नेपाली जनतासँग ट्याक्स लिने काम बन्द गर्नुहोस् ।
FACEBOOK COMMENTS